काठमाडौं : रेनशा राई निर्देशित फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ। मंगलवार काठमाडौंमा भएको प्रिमियरमा धिरज मगर र जसिता गुरुङ अभिनित उक्त फिल्मलाई चलचित्रकर्मीबाट सकरात्मक प्रतिक्रिया मिलेको हो।
प्रिमियरमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार भुवन केसीले फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक बनेको बताए। उनले नेपालमा यो स्तरको फिल्म बन्नु निकै सुखद कुरा रहेको समेत बताए।
त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले ड्रामा जनराको फिल्म हेर्दा निकै रमाइलो लागेको बताइन्। अभिनेत्री आना शर्माले फिल्मको कथा निकै मन परेको बताउँदै धिरज र जसिताको अभिनयको प्रशंसा गरिन्।
यस फिल्मले नेपालमा एउटै शैलीको कथा भन्ने ट्रेन्डलाई भत्काएको निर्देशक प्रदीप भट्टराईको भनाइ छ।
‘नेपाली फिल्ममा जे बिक्छ त्यही बनाउने चलन छ। तर रेनशाले यो ट्रेन्डलाई भत्काइदिनुभएको छ। यो फिल्म आफैँमा एक नयाँ प्रयास हो। जसले फिल्म बनाउने मेकरका लागि पनि नयाँ बाटो खोलिदिएको छ,’ उनले भने।
फिल्म हेरेर नायिका केकी अधिकारीले पनि खुलेरै तारिफ गरिन्। नेपालमा यस्तो कथामा फिल्म बनाउनु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै उनले निर्देशक, कलाकार र प्राविधिकहरुको मेहनत फिल्ममा देखिएको बताइन्।
जसिता गुरुङ पनि फिल्ममा काम गर्दाको मेहनत सम्झिएर भावुक नै बनिन्। जसिता र धिरजले प्रिमियरमा पाएको प्रतिक्रियाबाट उत्साहित रहेको बताए।
बैशाख २१ गतेबाट प्रदर्शन हुने यस फिल्ममा धिरज र जसिताका साथै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोललगायत कलाकारको अभिनय छ। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको फिल्ममा रेनशा र सोमनाथ खनालको संवाद छ।