PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

द्वारिका दासको सुटकेसभित्र लुकेको त्यस बखतको काठमाडौं ...



सहयोग रञ्जित

द्वारिका दासको सुटकेसभित्र लुकेको त्यस बखतको काठमाडौं ...

सन् २००४। कसिस दास श्रेष्ठ पाको न्यूरोडमा रहेको इमेज एमएफमा काम गर्थे। नजिकै खिचापोखरीमा उनका हजुरबुबा द्वारिका दास श्रेष्ठको घर। रेडियोमा कार्यक्रम संचालन सुरु हुनु दुई/तीन घण्टा अघि उनी हजुरबुबाकहाँ पुग्थे। द्वारिका दाससँग समय बिताउन असाध्यै रुचाउथे उनी। उनलाई त्यति नै रुची थियो सन् १९६० को दशकमा हजुरबुबाले खिचेका तस्विर हेर्ने।

'जमानाको कुरा हो, अहिले नेपाल पहिले जस्तो छैन। काठमाडौं, काठमाडौं जस्तो छैन।'

द्वारिका दास यसै भनिरहन्थे। तिनै कुराले कसिसलाई कौतुहल बनाइरहन्थ्यो - कस्तो थियो त काठमाडौं?

सन् १९६० मा द्वारिका दास दार्जिलिङबाट नेपाल आएका थिए। उनले खिचापोखरीमा दास फोटो स्टुडियो संचालनमा ल्याए। नेपालमा व्यवसायिक पोस्टकार्ड्सको युग यहीँबाट सुरु हुन्छ।

सन् १९२७ मा द्वारिका दासका बुवा ठाकुर दास श्रेष्ठले दार्जिलिङमा 'दास स्टुडियो' खोलेका थिए। सय वर्ष पुग्न लागेको दास स्टुडियो दार्जिलिङमा अहिले पनि संचालनमै छ। त्यसैबेला ठाकुर दासले नेपालका तस्विरहरु पोस्टकार्ड्स बनाएर दार्जिलिङमा बेच्न थालिसकेका थिए। जब द्वारिका स्थायी रुपमा काठमाडौं आए, दास स्डुडियोको ‘लिगेसी’ सँगै ल्याए।

द्वारिका काठमाडौं आउँदा नेपाल पर्यटकका लागि नौलो गन्तव्य थियो। पोस्टकार्ड्सको व्यापारले बजार लिनुको राज त्यही अरुतिर नदेखिने तिनै दृश्य हुन्थ्यो। उनले खिचेका स्वयम्भूको तस्विर काठमाडौं चिनाउने ‘आइकन’ बन्थ्यो। द्वारिकाले फोटो खिच्न छाडेपछि दास स्टुडियोको ‘लिगेसी’ ज्ञानेन्द्र दासले सम्हाले। उनले सन् १९८० को दशकमा जमलमा दास कलर ल्याब खोले। आफ्नो बुबाले झै उनले पनि पोस्टकार्ड्स बनाउन थाले। पोस्टकार्ड्सको व्यापार झन् तीब्र भयो। कसिस चाहिँ उनै ज्ञानेन्द्र दासका छोरा।

द्वारिका दासले क्यामरा बोक्न छाडेको ४० वर्ष नाघिसकेको थियो। बाल्यकालमा क्यामराका रिलसँगै खेल्दै हुर्केका कसिसका लागि तस्विर कहिल्यै नौला थिएनन्। तर, पनि उनले हजुरबुबाले खिचेका अघिल्लो पुस्ताका तस्विर चाहिँ हेर्न पाएका थिएनन्। द्वारिका भन्थे – 'जमाना बद्लियो, पुराना तस्विरको के औचित्य?'

त्यसैले उनलाई ती तस्बिर देखाउन कुनै हुटहुटी चलेन।

तर कसिस चाहन्थे तस्बिर सबैले हेर्नुपर्छ। बुझ्नुपर्छ समाज। अनि परिवर्तन। उनले हजुरबुबालाई मनाउने प्रयास गरिरहे। उनले रेडियोमा कार्यक्रम चलाइरहँदा नै हो कसिसले द्वारिकादासलाई कन्भिन्स गरे। हजुरबुबा आफूले खिचेका पुराना फोटा देखाउन राजी भए।

मुलुक माओवादीको 'जनयुद्ध' र संसद विघटनले सुरु गरेको प्रतिगमनविरुद्ध छेडिएको आन्दोलनको रापतापमा थियो त्यतिखेर। कसिसलाई आफ्ना काम देखाउन ‘ग्रिन सिग्नल’ दिएको केही सातामै द्वारिका दासको निधन भयो। उनका अजर कामहरु चाहिँ कसिसको हातमा पर्‍यो। द्वारिकादासको ‘ह्यान्डक्यारी सुटकेस’ कसिसका लागि ‘अप्रत्याशित उपहार’ नै ठहरियो।

‘बित्नु भएपछि बाजेको ह्यान्डक्यारी सुटकेस भेटियो। जे जति बाँकी थियो त्यही सुटकेसमा मात्रै। अनि तीन वर्ष त त्यसमा भएका तस्विर व्यवस्थापन गर्नै लाग्यो,' कसिसले भने। उपलब्ध भएका मध्ये काम लाग्ने र काम नलाग्ने फोटो छुट्याए। विषय अनुसार वर्गीकरण गरे - ल्यान्डस्केप, पोट्रेट। पोखरा या वसन्तपुर।

हजुरबुबाको त्यो सुटकेसमा भेटिएका तस्विर ‘अर्गनाइज’ गर्ने काम अझै जारी छ। कसिसलाई लाग्छ त्यो काम कहिल्यै सकिने छैन।

+++

ललितपुरको झम्सिखेलमा रहेको विन्ड हर्स ग्यालेरीमा चलिरहेको ‘पोस्टकार्ड्स फ्रम काठमाडौंज् पास्ट’ मा कसिसले तीन पुस्ते कामलाई एकै थलोमा जुटाएका छन्। हजुरबुवा द्वारिका दास, बुवा ज्ञानेन्द्र दास र कसिसका समयका काठमाडौंका दृश्यले ग्यालेरी सजिएको छ।

प्रदर्शनीको उद्देश्य हो - हजुरबुबाको तस्विर देखाउने र अहिलेको पुस्तालाई त्यस बेलाको काठमाडौं चिनाउने। ग्यालेरीमा रहेको गौचरण (हालको त्रिभुवन विमानस्थल) र बौद्ध होस् या रानी एलिजाबेथको नेपाल भ्रमण। सबैले त्यसबखतको काठमाडौं नियाल्ने अवसर दिएको छ।

‘पोस्टकार्ड्ससँग हाम्रो परिवारको पेशा जोडिएको छ। बाजेका धेरै फोटो देखाउन मन लाग्छ,' उनले सुनाए, 'पहिलेको समयबाट अहिले पोस्टकार्ड्स पठाइरहेको महसुस होस् भन्ने महसुस गराउन खोजेको हुँ।' त्यसका लागि कसिसले सन् १९६० देखि २०२३ सम्मको सेन्टिमेन्ट जोड्न 'पोस्टकार्ड्स फ्रम काठमाडौंज् पास्ट' टाइटल सुझाएका हुन्।

सन् २०१९ मा कसिस दार्जिलिङ पुगे। द्वारिकाका दाजु दुर्गादास प्रधानलाई भेटे। दुर्गादासले दास स्टुडियो संचालनको पुरानो कथा कसिसलाई सुनाए।

‘उहाँसँग कुरा गरेपछि दास स्टुडियो त्यसबेला दार्जिलिङमा खोल्दा छाप्ने प्रविधि नै नभएको थाहा पाएँ। पोस्टकार्ड छाप्न कोलकत्ता नै लग्नु पर्नेरहेछ। हजुरबुबा काठमाडौंमा आएपछि नेपालका पोस्टकार्ड छाप्न दार्जिलिङ पठाउनु पर्ने,' कसिसले भने, 'उहाँ काठमाडौं आइपुग्दा चाहिँ दार्जिलिङमा नयाँ प्रविधि आइसकेको रहेछ।'

कसिसका अनुसार पछि फोटो प्रिन्ट गर्न काठमाडौंबाट कलकत्ता नै पठाउन थालेका थिए उनका हजुरबुबाले। कसिसका बुबाको समयमा भने थाइल्यान्ड पठाइन्थ्यो।

बुबा ज्ञानेन्द्र दासको समयमा पोस्टकार्ड झनै ‘कमर्सियल’ बन्दै गयो। तीन - तीन महिनामा बैंककमा पोस्टकार्ड्स छापेर काठमाडौंमा ‘डिस्ट्रिब्युसन’ भएको सम्झिए कसिसले।

‘कलर टेक्नोलोजी, डिजिटल यहाँ थिएन। स्टुडियोको सन्दर्भमा कम्प्युटर, कलर प्रोसेसिङ र डिजिटल प्रोसेसिङ नेपालमा बुवाले नै भित्र्याउनु भयो,' उनले भने। कसिसका अनुसार हरेक तीन महिनामा कार्गो सिपमेन्टबाट आउँथ्यो पोस्टकार्डस्। गोदाम बालुवाटारको घरमा। कति चाहिँ थापाथलीको पसलकै बेसमेन्टमा पनि राखिन्थ्यो।

‘एक्साइटिङ लाग्थ्यो। राति ट्रकबाट झारेको झार्‍यै हुन्थे। घरमा मिलाउँदा घण्टौं लाग्थ्यो,’ कसिसले सम्झिए।

बुबाको समयमा अर्थात् १९९० को दशकमा पर्यटन क्षेत्र ‘ग्रुम’ भइरहँदा भने एउटा पोस्टकार्ड्सको मूल्य १० रुपैयाँसम्म पुगेको कसिसलाई याद छ। त्यसबेला पोस्टकार्ड बेच्न र्‍याकसमेत बिक्रेतालाई बनाएर दिने गरेका थिए कसिसका बुबाले। तर, अहिले फाट्टफुट्टमात्रै पोस्टकार्ड्स देखिन्छन् काठमाडौंका बजारमा। पोस्टकार्डको पुरानो ‘क्रेज’ गुमिसक्यो। पोस्टल सर्भिस नै गुमनाम भइसक्यो नेपालमा। सँगै पोस्टकार्ड कल्चर पनि। त्यसैले मानसपटलबाट मेटिँदै गएको काठमाडौंको पूरानो इमेज र पोस्टकार्डको याद ताजा बनाउन प्रदर्शनी गरेका हुन् कसिसले।

‘बाजेले खिचेका तस्बिर पाएपछि मैले भिजियुल कम्पेरिजन गरेँ। तीन पुस्ते लेन्सबाट नेपालको अर्बनाइजेसनको हिस्ट्री बुझ्ने अवसर पाएँ। अनि नेपालको अबर्नाइजेसनको इतिहास भन्न मन भयो। यो प्रदर्शनीमा गर्न खोजेको पनि त्यही हो,’ उनले भने।

प्रदर्शनीमा कसिस आफैले खिचेका वसन्तपुरको तस्विर राखिएको छ। बुबा र हजुरबुबाले वसन्तपुरको कयौं तस्विर खिचेकाले राम्रो खिच्ने चुनौती हुने नै भयो उनीमाथि। उनले खिचेको तस्विरले काठमाडौंमा बढ्दै गएको प्रदूषण कैद भयो जुन उनका हजुरबुबा र बुबाले खिचेका तस्बिरमा थिएनन्। वैशाखको समयमा नीलो हुनुपर्ने आकाश धुमिल देखियो। अनि त्यही फोटोको आकाशलाई उनले आर्टिफिसियल इन्टेलिजेन्सको सहाराबाट निलो बनाउन लगाए। फोटोमा देखिने पाइप र कालो ट्याङ्कीले सम्पदा क्षेत्रमाथि बढ्दो शहरीकरणको प्रभाव प्रष्टै देखायो। शहरको रुप र प्रविधिको प्रयोग दुवैलाई उनले उतारेका छन्।

काठमाडौंलाई तस्विरबाट नियालेका उनी २१ औं शताब्दीमा सबै पुरानै शैलीको रहिरहन नसक्ने स्वीकार्छन्। तर, काठमाडौंले के गुमाइरहेको छ भनेर आउने पुस्ताले सोच्नुपर्ने उनको बुझाई छ।

‘त्यो बेला क्वालिटी अफ लाइफ थियो। तर, आधारभूत सुविधा थिएन। अहिले आधारभूत सुविधा होला तर पहिलेजस्तो गुणस्तीय जीवन बाँच्न सकिन्न,' दृश्यलाई उनले यसरी नै तुलना गर्छन्। गुणस्तरीय जीवन र बसोबास योग्यताका हिसाबले काठमाडौं ओरालो यात्रामा रहेको उनको बुझाई छ।

'जुन हिसाबमा काठमाडौं अघि बढिरहेको छ, त्यही रहने हो भने यहाँ बसोबास योग्यता धेरै समय टिक्दैन,’ उनले सुनाए। त्यसैले वातावरणीय क्षति न्यून गर्ने अभियानमा जोडिएका छन् उनी।

लामो समय मिडियामा काम गरेका कसिसलाई डकुमेन्ट्रीबाट कथा भन्न मनपर्छ। त्यसैले ‘टिनएजर’ हुँदा काठमाडौंमा फैलिरहेको म्यूजिक र रेष्टुरेन्ट कल्चरलाई भिडियोमा उतारेका छन्। त्यही बेला उनले भुटानी शरणार्थीको समस्या र माओवादी द्वन्द्वलाई पनि नजिकबाट बुझ्ने प्रयास गरे। पुष्पकमल दाहाल प्रचण्डलाई ‘फलो’ गरे।

'डकुमेन्ट्री फोटोग्राफरका हिसाबमा मैले त्यस बेला मेरो पुस्तालाई जनयुद्धले पार्ने प्रभाव बुझाउनु थियो। प्रचण्डले सुरु गरेको जनयुद्धले प्रभाव पार्थ्यो नै। सबै एङ्गलमा प्रचण्ड सेन्ट्रल फिगर थिए। त्यसैले सके जति फलो गरेँ। न्यूयोर्कमा हुँदा पनि फलो गरेँ। नेपालमा पनि। त्यो अनगोइन हुन्छ। हि इज इस्टिल एलाइभ,’ उनले आफ्नो डकुमेन्ट्री यात्राको सम्भावना सुनाए।

अहिले भने उनी म:म कल्चरबारे किताब लेखिरहेका छन् जुन यसै वर्ष प्रकाशमा ल्याउने लक्ष्य छ। उनलाई थाहा छ केही वर्षमा नै म:म ‘ग्लोबस डिस’ बन्दैछ। पत्रकारिताको पृष्ठभूमिले उनलाई पोस्टकार्डस् देखि म:मसम्म जोडेको छ जसबाट उनको संस्कृतिप्रतिको चेतलाई व्याख्या गरिरहेको छ। प्रदर्शनीमा उनले राखेका तस्बिरहरुले पनि उनको असीमित इच्छा बोलिरहेको अनुभूति हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell