काठमाडौँ: एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको नेपाली टोलीका सदस्यलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषदले निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषदको बैठकले टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख तथा अफिसियललाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
त्यस्तै, कीर्तिपुर स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेटमा प्राथमिकता दिन सरकारले निर्णय गरेको हो। प्रतियोगिताका क्रममा वर्षा चलिरहँदा क्रिकेट समर्थकहरु छाता लिएर दिनभर स्टेडियममा बसेका थिए। व्यवस्थित रंगशाला नहुँदा यस्तो अवस्था आएको भन्दै सरकारको आलोचना समेत भएको थियो।
एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको थियो। च्याम्पियन बनेसँगै नेपालले एसिया कप र एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने पक्का भएको छ।
प्रिमियर कपमा नेपाल समूह 'ए' मा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह चरणमा एक हारको बाबजुद यूएई समूह 'बी'को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सेमिफाइनलमा नेपाल र कुवेत बिच खेल वर्षाका कारण रद्ध हुँदा समूह विजेता रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। अर्कोतर्फ यूएईले समूह 'ए'को उपविजेता ओमनलाई हराएर फाइनल यात्रा तय गरेको हो।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार थिए भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर थिए। समूह 'ए'बाट नेपाल विजेता र ओमन उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। समूह 'बी'बाट यूएई विजेता र कुवेत उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए।