PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

दार्चुला हिमपहिरोमा परी बेपत्ता तीन जनाको शव भेटियो



रासस

दार्चुला हिमपहिरोमा परी बेपत्ता तीन जनाको शव भेटियो

महेन्द्रनगर : दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ।  मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए।

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका थिए। दुवैजना आमाछोरा हुन्। यस्तै बेपत्ता भएकामा डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेका थिए।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन  शव भेटिएको जानकारी दिए। 'शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ,' भट्टले भने, 'शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन।'

मंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell