PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

शरणार्थी प्रकरणमा सचिव टेकनारायणको नगदमै लेनदेन !, बादलका छोरा पनि खोजीको सूचीमा



पहिलोपोस्ट

शरणार्थी प्रकरणमा सचिव टेकनारायणको नगदमै लेनदेन !, बादलका छोरा पनि खोजीको सूचीमा

काठमाडौं : २०७८ साउन २७ गतेदेखि २०७९ अशोज २ गतेसम्म सचिवका रुपमा टेकनारायण पाण्डेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले। त्यतिखेर तालुकदार मन्त्री चाहिँ नेपाली कांग्रेसका बालकृष्ण खाँड थिए।

गत असोजदेखि भने टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालयका सचिवका रुपमा कार्यरत रहे। उनै सचिव बुधवार काठमाडौं प्रहरीको नियन्त्रणमा पुगेका छन्। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पाण्डे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली बताउँछन्।

'उहाँ प्रहरी कार्यालयमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको हो,' एआइजी ज्ञवालीले भने।

नेपाल सरकारको बहालवाला सचिव नै पक्राउ पर्नु सामान्य विषय भने होइन। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने प्रकरणमा मुछिएपछि उनी प्रहरी नियन्त्रणमा पुगे। त्यसो त जतिखेर उनी गृहको सचिव थिए अहिले प्रहरी सङ्गठनको नेतृत्व गरिरहेका आईजी वसन्त कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। त्यतिखेर नै भुटानी शरणार्थी प्रकरण बाहिरिसकेको थियो। प्रहरीले उजुरीको आधारमा अनुसन्धान थालेको थियो। तर हाइ प्रोफाइल व्यक्तिको संलग्नता देखिएपछि उक्त प्रकरण तैँ चुप मै चुप मा रह्यो।

पछिल्लो एक वर्षमा राजनीतिक महोल फेरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख नेपाल प्रहरीको सङ्गठन प्रमुख भएका छन्। गृहमन्त्रीहरु फेरिए। प्रहरीले पुनः नक्कली शरणार्थी प्रकरणको फाइल अगाडि बढायो। प्रहरीले घटनामा जोडिएका मानिस समात्न थाल्यो।

प्रहरीले सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राई समेतको संयुक्त मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारि ठगी गरेको जाहेरी परेपछि उनीहरू समातिएका थिए।

यस केसमा गजेन्द्र बुढाथोकीको जाहेरी परेको थियो। उनीहरूलाई मुलुकी अपराध संहिताको दफा २४९ (१) र (२) बमोजिमको  कसुर अपराधमा कारबाही गर्न भन्दै कार्यालयले फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको थियो। त्यसपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म २० वटा जाहेरी परिसकेको छ। १ सय ४५ जनाले ठगिएको भन्दै उजुरी दिएका छन्। एउटा जाहेरीमा ६२ जनाले संयुक्त उजुरी दिएका छन्। प्रहरीको प्रारम्भीक अनुसन्धानमा ३४ करोड रुपैयाँ भन्दा बढी ठगिएको खुलेको छ। अमेरिका पठाइदिने भन्दै १० लाख रुपैयाँ देखि ४० लाख रुपैयाँ मानिसबाट ठगिएको देखिएको छ।

ठगीको अनुसन्धान गर्दै जाँदा उच्च तहका प्रहरी कर्मचारीको समेत संलग्नता रहेको खुल्दै आएको छ। बुधवार समातिएका सचिव पाण्डेले ५० लाख रुपैयाँ भन्दा बढी रकम बुझेको देखिएको छ।

'बयानमा ५० लाख रुपैयाँ भन्दा बढी लिएको बयान छ। थप अनुसन्धान हुँदै जान्छ,' अनुसन्धानका एक प्रहरी अधिकृतले भने।

त्यस्तै मंगलवार पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन्। उनलाई पनि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नियन्त्रणमा लिइएको हो। ललितपुरबाट राईलाई नियन्त्रणमा लिएको थियो। राईले पनि  ५ करोड रुपैयाँ भन्दा बढी रकम लिएको बयानमा खुलेको छ। त्यसलाई प्रमाणित गर्न थप प्रमाण फेला पारेपछि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको थियो। उनका छोरा नीरज राईको पनि संलग्नता खुलेपछि पक्राउ पुर्जी जारी भइसकेको छ। तर, उनी फरार छन्।

रामबहादुर थापा बादल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृह मन्त्री थिए। यसरी हेर्दा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल माथि पनि प्रश्न उठेको छ। त्यस्तै उनका छोरा प्रतिक थापा पनि यसमा संलग्न भएको बयानमा खुलेको छ। उनी विरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

त्यतिमात्र होइन, पूर्व मन्त्री टोपबहादुर रायमाझी विरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। नेकपा एमालेका सांसद रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ प्रहरीले। जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्। प्रहरीले रायमाझीका छोराको नाममा काटिएको डेढ करोड रुपैयाँको चेक समेत फेला पारेको छ।

उनले गएको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका थिए। नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेतामध्ये उनले मात्र प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका हुन्। नेकपा एमालेको दसौँ महाधिवेशनबाट उनी सचिव चुनिएका हुन्।

अहिले गृह मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। उनको नेतृत्वमा यस प्रकरणले थप कति गति लिने हो त्यो चाहिँ अझै हेर्न बाँकी छ। शरणार्थी प्रकरण नेपालको सन्दर्भमा लहरो तान्दा पहरो गर्जने खालको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell