PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

सरकार अप्ठेरोमा परेका बेला के के छलफल भयो बालुवाटारको बैठकमा?



पहिलोपोस्ट

सरकार अप्ठेरोमा परेका बेला के के छलफल भयो बालुवाटारको बैठकमा?

काठमाडौं : सत्ता गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ। वैशाख १० गते सम्पन्न उप निर्वाचनपछि गठबन्धनको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो। सरकारलाई समर्थन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने या कायमै राख्ने भन्नेबारे छलफल गरिरहेका बेला गठबन्धनको बैठकमा सरकारमा रास्वपालाई कसरी सहभागी गराउने भन्नेबारेमा छलफल भएको छ। यसअघि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।

उप निर्वाचनमा जित निकाले लगतै लामिछानेले सरकारलाई दिएको समर्थनको अर्थ नभएको बताएका थिए। शुक्रवार रास्वपाले सरकारबारे निर्णय गर्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। कांग्रेस नेता रमेश लेखकले सरकार र गठबन्धनबारे दायाबाँया नहुने बताए। 'गठबन्धनसँग स्पष्ट बहुमत छ। सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने स्थिति छैन। त्यसबारेमा पनि नेताहरुका बिचमा एकरुपता भएको छ,' उनले भने। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बुधवार नै माओवादी केन्द्रले दम्भ देखाएको आरोप लगाएका थिए। नेपालको अभिव्यक्तिबारे पनि गठबन्धनको बैठकमा छलफल भएको लेखकले बताए। आजै नेपाली कांग्रेसका तर्फबाट तीन जना धनराज गुरुङ, मोहन बस्नेत, डिगबहादुर लिम्बुले मन्त्रीमा नियुक्त भएका छन्। चाँडै सरकारले पूर्णता पाउने पनि उनले बताए। प्रचण्डले पुस २६ र चैत ६ मा गरी दुई पटक प्रधानमन्त्रीमा विश्वासको मत लिइसकेका छन्।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत फेरि लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै माओवादी केन्द्रका नेताहरुले नै लामिछानले रोजेको मन्त्रालय दिएर सरकारमा सहभागी गराउनुपर्ने मत राखिरहेका छन्। रास्वपाले भने पहिलाको सहमति अनुसार पाएको मन्त्रालय पाए सरकारमा सहभागी हुने नभए समर्थन नै फिर्ता लिने रणनीति बनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell