
वीरगंजः नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठले आफूलाई वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। श्रेष्ठले मेयरको समूहले कुटपिट गरेको पनि आरोप लगाएका छन्।
बुधबार दिउँसो ४ बजे नगर प्रमुखसहितको टोली कार्यकक्षमा आएको र कठालो समाएर गाडीमा राखेर जिल्ला प्रशासन कार्यालय पर्सामा लगेको श्रेष्ठले बताए। उनले नगर प्रमुखले अपशब्द प्रयोग गरेको र जिल्ला प्रशासनको गेट अगाडि उनका मानिसहरूले ‘घुस्याहा हाकिम, पैसा माग्छस् भनेर’ हातपात गरेको बताए।
घटनापछि नगर प्रमुखले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको कक्षमा लगेको र त्यहाँ सहमति कायम गरी आफूलाई छाडिएको उनले बताए।
नगर विकास समितिले प्लटिङ गरेको श्रीसिया टाउन प्लानिङको जग्गाको नापजाँचको विषयमा दुईबीच विवाद भएको हो। नापजाँचको काम छिटो सक्न मेयर सिंहले दबाब दिएको श्रेष्ठको आरोप छ। नापीको काम करिब ७० प्रतिशत सम्पन्न भएको श्रेष्ठको भनाई छ।
नगर प्रमुख सिंहले भने ६ महिनादेखि काम अल्झाएर राखेकाले श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीसमक्ष लगिएको बताए। दुर्व्यवहारको कुनै पनि घटना नभएको पनि सिंहले जिकिर गरे।