काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही कारण हाल देशभर सामान्य बदली रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
महाशाखाका अनुसार बिहीवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र वाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीवार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।