PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको पक्राउ गर्ने ‘लिस्ट’मा पूर्व मन्त्रीदेखि पूर्व गृहमन्त्रीका छोरासम्म



सविन ढकाल

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको पक्राउ गर्ने ‘लिस्ट’मा पूर्व मन्त्रीदेखि पूर्व गृहमन्त्रीका छोरासम्म

काठमाडौं : बुधवार राति नेपाल प्रहरीले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गर्‍यो। त्यस्तै बुधवार नै प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिएर अहिले उनलाई सिंहदरबार वृत्तमा राखिएको छ। पाण्डेले पनि गृह मन्त्रालयमा सहजताको भूमिका निर्वाह गरेर रकम लिएको देखिएको छ।

अभियुक्त सन्देश पाण्डे र केशव दुलालसँग उनको पटक-पटक सम्पर्क भएको देखिएको छ। दुलाल कांग्रेस नेतृ सुजता कोइराला मन्त्री हुँदा पीए भएका थिए।

बुधवार नै प्रहरीले थप दुई जनालाई पक्राउ गर्न अदालतबाट अनुमति पाइसकेको छ, जसमा पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा रहेका छन्।

रायमाझीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहसँग सम्पर्क गरेर ठगीमा सहयोग गरेको खुलेको छ। त्यस्तै, उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक समेत पटक-पटक गरेर केही वर्ष अगाडि काटिएको भेटिएको छ।

पक्राउ परेकाहरू सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राई समेतले रायमाझीको नाम लिएका छन्। मुख्य योजनाकार सानु भण्डारीले टोपबहादुरको नाम लिएका हुन्।

बुधवार पक्राउ पुर्जी जारीको खबर बाहिरिँदा रायमाझी भने अर्घाखाँचीमा थिए। आफूलाई पक्राउ पुर्जी जारी भएको बारेमा अनविज्ञ भएको उनले प्रतिक्रिया दिएका छन्।

‘मलाई थाहा छैन। भुटानी शरणार्थीका नाममा गैर भुटानी शरणार्थी विदेश जानुपर्छ भन्ने मलाई थाहा पनि छैन। त्यो गर्ने कुरा पनि भएन,’ रायमाझीले पहिलोपोस्टसँग टेलिफोनमा भने।

तर उनका छोरालाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर आज काठमाडौं ल्याउँदै छ। टोपबहादुर पनि प्रहरीको पक्राउ पर्ने लिस्टमा रहेका छन्। उनलाई पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’मा छ।

त्यस्तै, बुधवार नै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउको अनुमति पाइसकेको छ। उनलाई पनि पक्राउ गर्ने तयारीमा छ प्रहरी।

अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यस घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म सचिवसहित गरेर आठ जना पक्राउ परिसकेका छन्। अनुसन्धान गर्दै जाँदा लिस्टमा अरू पनि थपिन सकिने प्रहरीको दाबी छ।

‘यो भन्दा अझै हाई प्रोफाइल भनिएका व्यक्तिसम्म अनुसन्धान पुग्ला जस्तो देखियो। बयान मात्र भएन त्यसलाई जोड्ने प्रमाण खोजी रहेका छौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

मंगलवार मात्र प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनको बयानको आधारमा पनि थप ‘हाई प्रोफाइल’ व्यक्ति थपिएका हुन्।

राईले गृह मन्त्रालयमा हुँदा ठगी गिरोहलाई सहयोग गरेको र पाँच करोड रुपैयाँ भन्दा बढी रकम लिएको अनुसन्धानमा खुलेको छ। घटनामा उनका छोराको पनि संलग्नता देखिएको छ।

उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी समातिएका छैनन्। उनी ठगी गिरोहका मानिस समातिन थालेपछि फरार रहेका थिए।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस प्रकरणमा राजनीतिक दलको आडमा कुनै ‘हाई प्रोफाइल’ व्यक्ति भए पनि नछोड्ने बताएका छन्। प्रहरी त्यसैको आधारमा अनुसन्धानमा प्रमाण फेला परेको खण्डमा अनुसन्धानमा तान्ने तयारीमा छ।

ठगी समूहले ८ सय जना भन्दा बढी मानिससँग नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ल्यौजाने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म उठाएका थिए। तर अहिलेसम्म १ सय ४५ जनाले मात्र प्रहरीमा उजुरी दिएका छन्।

थप पीडित आउन सक्ने प्रहरीको अनुमान रहेको छ। २०७४ सालदेखि नै ठगी धन्दा सुरु भएको खुलेको छ।

दुई वर्ष अगाडि नै पीडित प्रहरी कहाँ पुगेका थिए। तर प्रहरीले अनुसन्धान गर्ने हिम्मत देखाएको थिएन। सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।

गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र बुधवार समातिएका सचिव पाण्डे गृह सचिव थिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख हालका प्रहरी महानिरीक्षक वसन्त कुँवर थिए। तर सानु केही समयमा नै छुटे।

झापा, मोरङ, सुनसरी, दाङ, बाग्लङ लगायतका जिल्लाका मानिस ठगिएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell