काठमाडौं : बिहीवारबाट नेपाली सिनेमाहलमा रेनशा राई राणा निर्देशित फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’ प्रदर्शनमा आएको छ। बिहीवार अन्य कुनै फिल्म नहुँदा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको यस फिल्मले ‘सोलो रिलिज’को मौका पाएको हो।
सोलो रिलिजको मौका पाएसङ्गै ‘ज्याकी : आइ एम ट्वान्टी वान’ले हलहरुबाट राम्रो शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई २८ शो दिएको छ।
त्यस्तै, बिग मुभिजले ५ शो, वान सिनेमाजले १३ शो, क्युज सिनेमाजले ३ शो, सीडीसी सिनेमाजले ३ शो, एफ क्युब सिनेमाजले ४ शो उपलब्ध गराएको छ।
फिल्ममा धिरज र जसिताका साथै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको फिल्ममा रेनशा र सोमनाथ खनालको संवाद छ।