काठमाडौं : नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीका छोरालाई पक्राउ पछि सन्दीपलाई काठमाडौं ल्याइएको छ।
बुधवार राति उनलाई बुटबलबाट पक्राउ गरिएको हो। आज बिहान भैरहवाबाट विमानमा काठमाडौं ल्याइएको हो। उनलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ। हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएपछि उनीमाथि प्रहरीले थप अनुसन्धान गर्ने छ।
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा सन्दीप पनि परेका थिए। उता सन्दीपका बुबा टोपबहादुर रायमाझी विरुद्ध पनि पक्राउ पुर्जी जारी भइसेको छ। तर, टोपबहादुर रायमाझी भने सम्पर्क विहीन रहेको प्रहरीको भनाई छ। बुधवार काठमाडौं आउने टिकट क्यान्सिल गरेर उनी सम्पर्क बिहीन भएका हुन्। प्रहरीले रायमाझीलाई खोजी गरिरहेको छ। त्यसअघि पहिलोपोस्टसँग टेलिफोन सम्पर्कमा रहेका रायमाझीले आफूलाई पक्राउ पुर्जी जारी भएकोबारे अनभिज्ञता जाहेर गरेका थिए। उनले काठमाडौं आउँदै गरेको पनि बताएका थिए।
बुधवार उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ पूर्जी जारी भएपछि उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका थिए। नेकपा एमालेकै नेता तथा पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई पनि पक्राउ परिसकेका छन्। उनका छोरा पनि प्रहरीको खोजी सुचीमा छन्।
टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यसँग चिनजान रहेको अभिव्यक्ति विभिन्न मिडियामा दिएका थिए। मिडियामा आएका उनका अभिव्यक्तिले उनको संलग्नता बलियो देखाएपछि प्रहरीले अनुसन्धानका लागि ट्र्याकिङ थालेको थियो।
ठगी गिरोहले सन्दीपको नाममा डेढ करोडको चेक काटेको फेला परेको छ। त्यस्तै पक्राउ परेका अभियुक्तको बयानमा पनि बाबुछोराको संलग्नता भएको बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न अनुमति लिएको हो।