भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो आज गोवा पुग्दैछन्। गोवामा हुने संघाइ सहयोग संगठनको बैठक (एससीओ)मा सहभागी हुन उनी भारतका लागि उडिसकेका छन्। एससीओको विदेश मन्त्रीस्तरको बैठकका लागि जयशंकरले भुट्टोलाई आमन्त्रण गरेका थिए।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले केहीसमय अघि महिना भारतसँग तीनपटक युद्ध लडेर पाकिस्तानले धरै पाठ सिकेको बताएका थिए। शहबाजको यो भनाइपछि भारतले भुट्टोलाई बोलाउने निर्णय गरेको थियो। तर, दुवै देशबिचको सम्बन्ध मित्रतापूर्ण हुन सकेको छैन। भुट्टोले भारत पुग्नु अघि दिएको अभिव्यक्तिले पनि यो कुरालाई प्रष्ट पारेको छ।
भुट्टोले एससीओ चार्टरलाई बलियो बनाउने उद्देश्यले नै आफूले भारत भ्रमण गरेको बताएका छन्। उनले आफ्नो भारत भ्रमण संघाइ सहयोग संगठनको बैठकमा मात्रै केन्द्रीत हुने बताएका छन्। उनले भारतसँग द्वीपक्षीय सम्बन्धका बारेमा कुनै पनि कुरा उल्लेख गरेका छैनन्। भुट्टोले गोवामा मित्रवत् राष्ट्रहरुसँग रचनात्मक छलफल हुने बताएका छन्। यो अभिव्यक्तिले पनि भारतसँग कस्तो संवाद होला भन्ने थप प्रश्न जन्माएको छ।
दुई देशबिचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा वर्षौपछि पाकिस्तानी मन्त्री भारत पुग्न लागेका हुन्। पछिल्लो पटक सन् २०११ मा पाकिस्तानकी तत्कालीन विदेशमन्त्री हिना रब्बानी खानले भारत भ्रमण गरेकी थिइन्। त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्री भारत आएका थिएनन्। यस्तै, सन् २०१६ मा पाकिस्तानका विदेश मामिला सल्लाहकार सरताज अजिले भारत भ्रमण गरेका थिए। त्यसयता पाकिस्तानबाट कुनै पनि उच्च अधिकारी भारत आएका थिएनन्।
भारतमा भुट्टोले पाइला टेकेसँगै गोवामा भइरहेको सम्मेलनमा भारत र पाकिस्तान सरकार बिच वर्षौंको मौनता तोडिने निश्चित भएको छ। यस सम्मेलनका क्रममा भुट्टो र जयशंकर बिचको भेटलाई महत्वका साथ हेरिएको छ। तर, भुट्टोले भने आफू सम्मेलनका क्रममा द्वीपक्षीय भेटघाटमा व्यस्त हुने बताएका छन्।
On my way to Goa, India. Will be leading the Pakistan delegation at the Shanghai Cooperation Organization CFM. My decision to attend this meeting illustrates Pakistan’s strong commitment to the charter of SCO.
— BilawalBhuttoZardari (@BBhuttoZardari) May 4, 2023
During my visit, which is focused exclusively on the SCO, I look… pic.twitter.com/cChUWj9okR
जयशंकर र भुट्टोको भेटमा के के विषयमा छलफल हुने भन्ने जानकारी दिइएको छैन। यद्यपि, पाकिस्तानमा सेप्टेम्बरमा हुने तय भएको एसिया कप पनि दुई देशको बिग्रिएको सम्बन्धका कारण अन्यौलमा छ। भुट्टो र जयशंकर बिचको भेटमा यस विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ। तर, त्यसको सम्भावना न्यून रहेको बताइन्छ। रोचक के छ भने छिमेकी मुलुक भारत जाँदै गरेका भुट्टो साढे ११ घन्टा लामो यात्रा तय गर्दैछन् गोवा पुग्न। तनावकै कारण भारत र पाकिस्तानबिच सोझो हवाई यातायात सेवा छैन।
आतंकवाद सम्बन्धि मुद्दा उठाएर भारतले पाकिस्तानलाई घेर्दै आइरहेको छ। त्यसैले पछिल्लो समय अपवादमा बाहेक भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्च साझा गरेका छैनन्। जसकारण सार्क सम्मेलनसमेत हुन सकेको छैन। भारतले पाकिस्तानलाई देखाउँदै सार्कलाई बन्धक बनाइरहँदा द्वीपक्षीय सम्बन्ध विकासमा जोड दिइरहेको छ। यस्तै, बिम्सटेक र ब्रिक्समा भारतले जोड दिइरहेको छ।
यता, एससीओ सम्मेलनमा चिनियाँ र रसियाका विदेशमन्त्री पनि सहभागी हुँदैछन्। जयशंकरले उनीहरुसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यतालिका रहेको छ।