काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्। एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएका बेला ओलीले प्रचण्डलाई भेटेका हुन्।
प्रचण्डको सचिवालयले समसामयिक विषयमा वार्ता भएको बताएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा रायमाझी तानिएका हुन्। उनका छोरा संदीप हिजै पक्राउ परिसकेका छन्। यसअघि ओली र प्रचण्डबिच संवैधानिक परिषद र संसदमा रहेका विधेयकका बारेमा छलफल हुने गरेको भए पनि एमालेका नेता नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि ओलीले प्रचण्डलाई भेट गरेका हुन्।
उक्त प्रकरणमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री भएका बेलामा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेका छन् भने बादलका छोरा प्रताप पनि मुछिएका छन्। प्रहरीले रायमाझीपुत्र सन्दीपलाई बुटवलबाट पक्रेर काठमाडौं ल्याइसकेको छ।