काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई षडयन्त्रपूर्वक तरिकाले समाउन खोजिएको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेर फर्कने क्रममा पत्रकारलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले रहस्यपूर्ण तरिकाले बाटोमा हिँड्दा हिँड्दै समाउन खोजिएको टिप्पणी गरे।
उनले रायमाझीका विषयमा एमालेले अध्ययन गरिरहेको पनि बताए। 'तानिएको हो कि तनाइएको हो हामी अध्ययन गर्दैछौं। निर्दोष पर्न हुँदैन दोषी उम्कनु हुदैंन। निर्दोष फसाउन खोजिए हामी सहदैनौं,' ओलीले भने। उनले प्रचण्डको ध्यानकर्षण गराएको पनि बताएका छन्।
'एउटा सांसद पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षडयन्त्र पूर्वक ढंगले बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने?,'उनले भने। हिजै आफूले रायमाझीलाई फोन गरेर बुझेको पनि ओलीले बताएका छन्।