हेटौंडा : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ४५ लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ। ट्राफिक कार्यालय मकवानपुरले मादकपदार्थ सेवन गरि सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो। कार्यालयले ३२ हजार ८९ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको जनाएको छ।
आर्थिक वर्ष २०७६-७७ मा कार्यालयले १ करोड ८ लाख ९१ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष २०७७-७८ मा २ करोड ४५ लाख ८८ हजार ५ सय रुपायाँ र आर्थिक वर्ष २०७८-७९ मा २ करोड ३६ लाख ९० हजार ५ सय राजश्व सङ्कलन गरेको थियो ।
चालु आर्थिक वर्ष २०७९-८० को ९ महिनाको अवधिमा सङ्कलन भएको राजश्व गत वर्षहरुको तुलनामा सबैभन्दा बढी हो। कार्यालयले चालु आर्थिक वर्षको साउनमा २४ लाख ६ हजार ५ सय रुपैयाँ, भदौ महिनामा २५ लाख ४९ हजार रुपैयाँ, असोज महिनामा २५ लाख ५७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो। त्यसैगरी कार्तिक महिनामा २९ लाख ७५ हजार ५ सय रुपैयाँ, मंसिरमा २२ लाख ५२ हजार ५ सय रुपैयाँ , पुसमा २९ लाख १० हजार रुपैयाँ, माघ महिनामा ३० लाख ४७ हजार ५ सय रुपैयाँ, फागुनमा २७ लाख ९९ हजार ५ सय रुपैयाँ र चैत महिनामा ३० लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला ट्राफिक कार्यालय मकवापुरका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यले भने, ‘सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो।’
दुर्घटना परि ४६ जनाको मृत्यु
यस्तै, चालु आर्थिक वर्ष २०७९-८० को ९ महिनामा मकवानपुर जिल्लामा भएको १४९ वटा सवारी दुर्घटनामा परि ४६ जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्लाको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा ३८ जना पुरुष र ८ जना महिलागरी ४६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख आचार्यको भनाइ छ।