PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

मछिन्द्रले संकटालाई हरायो, १४ औँ चरण सकिँदा शीर्ष दुई टोलीको बराबर अंक



पहिलोपोस्ट

मछिन्द्रले संकटालाई हरायो, १४ औँ चरण सकिँदा शीर्ष दुई टोलीको बराबर अंक
फाइल फोटो: एन्फा

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न खेलमा मछिन्द्र क्लबले संकटा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले संकटामाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

खेलको चौथो मिनेटमै देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको मछिन्द्रलाई दोस्रो हाफमा ओलावाले अफीजले गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ संकटाका जुनियन एनकेनगुइले ७८ मिनेट गोल फर्काए। तर, ८९ औँ मिनेटमा विमल घर्तिमगरले मछिन्द्रको गोल थप्दा खेल साविक विजेता टोलीले ३-१ गोलअन्तरले जित्यो।

बिहीवार नै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विभागीय टोली एपीएफ र न्युरोड टिम (एनआरटी) १-१ गोलको बराबरीमा रोकिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५८ औँ मिनेटमा एनआरटीका लालनुनजमाले गोल गर्दै अग्रता बनाएका थिए। तर, इन्ज्युरी समयमा एपीएफका एडमा डोउम्बियाले गोल गर्दै खेल बराबरीमा ल्याए।

आजका खेलसँगै लिगको १४ औँ चरणका खेलहरु सकिएका छन्। १४ औँ चरण सकिँदा समान २४ खेल खेलेका जावलाखेल युथ क्लब र चर्च ब्वाइज तालिकाको शीर्ष दुईमा छन्। २३ अंक जोडेको थ्री स्टार तेस्रो, २२ अंक जोडेको सातदोबाटो चौथो र २१ अंक जोडेको मछिन्द्र पाँचौँ स्थानमा छन्। त्यस्तै २० अंक जोडेको आर्मी छैटौँ, १९ अंक जोडेको एपीएफ सातौँ, १८ अंक जोडेको मनाङ मर्स्याङदी आठौँ, १७ अंक जोडेका न्युरोड र हिमालयन शेर्पा नवौँ र दशौँ स्थानमा छन्। ११ औँ र १२ औँ स्थानमा १६ अंक जोडेको संकटा र १५ अंक जोडेको नेपाल पुलिस रहँदा रेलिगेशन क्षेत्रमा १५ अंक जोडेको फ्रेन्ड्स क्लब र १४ अंक जोडेको खुमलटार एफसी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell