PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पहिलोचोटि फुत्किए पनि दोस्रो पटक समातिएका सानुबाट तानिएको लहरोले ल्याउला कतिसम्म पहरो?



सविन ढकाल

पहिलोचोटि फुत्किए पनि दोस्रो पटक समातिएका सानुबाट तानिएको लहरोले ल्याउला कतिसम्म पहरो?

काठमाडौं: २०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गर्‍यो। सार्वजनिक हुनेमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ रहेका थिए।

सानु भण्डारी तीनै व्यक्ति थिए, जसलाई झन्डै एक वर्ष अगाडि सोही कार्यालयको टोलीले पक्राउ गरेको थियो। जतिखेर गृहमन्त्री थिए बालकृष्ण खाँड र गृहसचिव टेकनारायण पाण्डे। गृहकै दबाबमा उनी केही समयमा नै छुटे। त्यतिखेर कार्यालयको जिम्मेवारी चाहिँ अहिलेका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्हालेका थिए।

तर समय फेरियो। फेरि उही केसमा तीनै जना हिरासतमा पुगे। प्रकरण हो नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने। पक्राउ परेका केशव दुलाल भने नेपाली कांग्रेसका नेता सुजता कोइराला मन्त्री हुँदा पिए भएका व्यक्ति। त्यसैले उनको कर्मचारी प्रशासनसँग राम्रो सम्पर्क स्थापना भइसकेको थियो। उनीहरू पक्राउ परेपछि प्रहरी प्रशासनमाथि दबाब नपरेको होइन। तर यस पटकको दबाब गृहमन्त्री र प्रहरी प्रशासनले पनि झेल्यो।

प्रहरीले अनुसन्धान गर्दै जाँदा त्यसको तीन दिनपछि अर्का एक अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्‍यो। मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई। राईलाई चैत १५ गते पक्राउ गरेको थियो। त्यही समूहसँग मिलेर राईले ५० जना भन्दाबढीसँग ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि समातिएका थिए। तीन जनाको बयान र अन्य कनेक्सन केलाउँदै जाँदा प्रहरी राईसम्म पुगेको थियो। प्रहरी यतिकैमा रोकिने पक्षमा थिएन। ठगी धन्दाको जालो पूर्व झापादेखि पश्चिमको दाङसँग जोडिएको थियो। धेरै पीडित भएको उजुरी प्रहरीसँग आउन थालेको थियो। हुन त पीडित उनीहरू समातिनुभन्दा दुई वर्ष अगाडि नै प्रहरी कहाँ नपुगेका होइनन्। तर, प्रहरीले दबाबमा अनुसन्धानमा चासो दिएन।

दाङमा यसरी नै ठगी गर्ने गिरोहका अर्का नाइकेको सूचना प्रहरीलाई आइसकेको थियो। दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा। गजेन्द्र बुढाथोकीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। त्यसैको आधार र पक्राउ परेकाहरूको बयानको आधारमा प्रहरीले सन्देशको खोजी गर्‍यो। नभन्दै चैत २९ गते उनलाई पक्राउ गर्न सफल भयो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यति समयसम्म ६ जनालाई पक्राउ गरिसकेको थियो।

'पहिलो चरणमा हामीले अनुसन्धान गरेका थियौँ। त्यसपछि थप अनुसन्धानको लागि फाइल जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका हौँ,' कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।

उनीहरूले झापा, मोरङ, सुनसरी, दाङ, बाग्लुङलगायतका मानिसलाई अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म लिएको खुलेको थियो। जसको लागि उनीहरूले शिविरमा अनुगमन हुने भन्दै बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराह, काठमाडौँलगायत स्थानमा बोलाएका थिए। उनीहरूले अमेरिका जान पाइने भन्दै विभिन्न खातामा रकम समेत जम्मा गरेका थिए। प्रहरीको पहिलो चरणको अनुसन्धानमा १० जनाभन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको लोगो समेत प्रयोग गरेर शरणार्थी परिचयपत्र र ट्राभल डकुमेन्ट समेत बनाएको भेटिएको छ। उनीहरूले काठमाडौँ र ललितपुरको विभिन्न होटेलमा बसेर यस्तो डकुमेन्ट तयार पारेको खुलेको छ।

त्यतिखेर नै प्रहरीले यस घटनामा तत्कालीन गृह मन्त्रालयका पदाधिकारी, शरणार्थी समस्यासम्बन्धी कार्यदलका सदस्य समेतको मिलोमतो भएको हुनसक्ने देखिएकाले अनुसन्धान अगाडि बढाएको थियो। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानको लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो। कार्यदलले केही शरणार्थीको प्रमाणीकरण गर्न छुटेको प्रतिवेदन बुझाएपछि ठगी गिरोह झनै सलबलाएको आशङ्का गरिएको छ।

त्यही आधार देखाएर उनीहरूले नक्कली शरणार्थी बनाउने खेल सुरु गरेका थिए। काठमाडौं प्रहरी परिसरले सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ। यस घटनामा प्रहरीले ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। अनुसन्धान गर्दै जाँदा घटनामा हाइ प्रोफाइल व्यक्तिको संलग्नता देखिएको छ। अभियुक्तले केही त्यस्ता व्यक्तिलाई समेत पोलेका छन् जो अहिले संवैधानिक निकायका प्रमुख समेत छन्।

गत मंगलवार (वैशाख १९) गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि थप अभियुक्त खुल्दै गएका हुन्। उनका छोरा निरज पनि प्रहरीको खोजी सूचीमा रहेका छन्। उनी भारतमा रहेको भन्दै प्रहरीले खोजी गरिरहेको छ।

त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उपराष्ट्रपति कार्यालयमा बहालवाला सचिव पक्राउ परेपछि तरङ्ग ल्याएको छ। उनी बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृहसचिव बनेका थिए। गृहको बारेमा खासै ज्ञान नभएका पाण्डेलाई गृहसचिव बनाएको भन्दै प्रश्न समेत उठेको थियो।

पाण्डेले गृह मन्त्रालयबाट हुने कामको सहजता मिलाएको बयान दिएका छन्। जसको लागि उनले लाखौं रुपैयाँ बुझेको अभियुक्तको बयान छ। सचिव पाण्डे र अभियुक्त केशव भण्डारी बीच पटकपटक सम्पर्क भएको समेत खुलेको छ। उनीहरू बीच भएको कुराकानीको प्रमाण प्रहरीले फेला पारेको छ।

त्यसो त यस प्रकरणमा पूर्व गृहमन्त्री खाँण पनि प्रश्नको घेराभन्दा बाहिर छैनन्। बयानमा उनको पनि नाम नआएको होइन। तर प्रहरीले अहिलेसम्म प्रमाण नभेटाएको दाबी गरेको छ। बयानकै आधारमा पक्राउ गरेर उभ्याउँदा हुनसक्ने असफलतालाई लिएर प्रहरी केही बढी नै सचेत भएको देखिन्छ। त्यसमा पनि राजनीतिक विरासत भएका व्यक्तिलाई चलाउन हत्तपत्त प्रहरीले हिम्मत गर्दैन।

ललितपुरबाट समातिएका राईपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीपलाई प्रहरीले बुधवार नै बुटवलबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा बिहीवार हाजिर गराएको छ। अदालतले तीन दिन हिरासतमा राख्न आदेश दिएको छ। यता टोपबहादुर रायमाझी भने सम्पर्क बाहिर छन्। बुधवार अर्धखाँचीमा रहेका रायमाझी त्यसै दिन भैरहवा फर्किएका थिए। तर त्यसपछि भने प्रहरीको सम्पर्कमा आएका छैनन्। टोपबहादुर रायमाझीको अभियुक्तबीच उठबस रहेको खुल्छ। जुन कुरा टोपबहादुरले स्वीकार गरेका छन्। उनका छोरा सन्दीपको नाममा पटक पटक गरेर साढे १ करोडको चेक समेत काटिएको भेटिएको छ। यी नै आधार बनाएर उनलाई पक्राउ गरिएको हो।

त्यसो त बयानमा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको पनि नाम आएको छ। उनी २०७४ चैत देखि २०७६ माघ २० गतेसम्म गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए।

'उहाँको पनि नाम आएको छ। तर प्रमाण फेला नपरेसम्म यसै भन्न सक्ने अवस्था छैन,' एक उच्च प्रहरी अधिकृतले भने।

प्रहरीले यस्ता अनुसन्धानमा सांसद, र संवैधानिक आयोगका पदाधिकारीलाई त्यतिकै सोधपुछ तथा नियन्त्रणमा लिन नपाउने कानुनी प्रावधान छ। त्यसैले अन्य सामान्य मानिसलाई बोलेझैँ अनुसन्धान गर्न पनि कठिनाइ रहेको छ।

बिहीवार एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर घटनाको जानकारी लिएका छन्। उनले आफ्ना सांसदलाई त्यसरी निर्दोष फसाउन खोजे सहदैनौँ भनेर चेतावनी समेत दिएका छन्। अब प्रहरीलाई घटनाको निष्पक्ष छानबिन गर्न दिन स्वयम् प्रहरीले मात्र होइन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहालले खुट्टा दह्रो टेक्नुपर्ने छ। त्यस्तै सरकारमा रहेका पार्टी कांग्रेस र विपक्षी दल एमाले पनि सहयोग गर्नुपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell