PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१२ सालको नजिर दिँदै कांग्रेसमा विशेष महाधिवेशनको माग, शिवाकोटी भन्छन् : नीति अधिवेशनले पार लाग्दैन



पहिलोपोस्ट

१२ सालको नजिर दिँदै कांग्रेसमा विशेष महाधिवेशनको माग, शिवाकोटी भन्छन् : नीति अधिवेशनले पार लाग्दैन

  • अजयबाबु शिवाकोटी-

नीति महाधिवेशनको कुरा ठीक हो। तर, नीति अधिवेशनलेमात्र पार लाग्छ कि लाग्दैन भन्ने छ।

नीति अधिवेशन सँगसँगै विशेष महाधिवेशन हुनुपर्ने देखिन्छ। जसरी १२ सालमा सुवर्ण शम्शेर नेतृत्वमा आइसकेपछि विशेष परिस्थिति भनेर त्यहाँको राजनीतिक परिस्थित मध्यनजर गर्दै, जसरी बीपीलाई नेतृत्व पुर्‍याइएको थियो, छैटौं महाधिवेशनपछि। त्यो अवस्था र अहिलेको अवस्था उस्तै छ। जुन अवस्था र जनमतले जे संकेत गरेको छ १२ औं महाधिवेशनलाई दाँजेर हेर्नुपर्ने अवस्था बनेको छ।

त्यतिखेर पनि तीनै वर्ष बाँकी थियो महाधिवेशन गर्न १२ सालदेखि १५ साल। अहिले पनि त्यस्तै ३ वर्षको समय छ।

हामीलाई २०८४ सालको निर्वाचनलाई हेर्नुछ। अर्को चुनावमात्र हैन आउने पुस्तालाई हेर्नुपर्छ। अर्को निर्वाचन हेर्ने हो भने २०८४ को निर्वाचन हो। त्यतिखेर पनि २००७ सालपछि जसरी प्रजातन्त्र पुर्स्थापनापछि नयाँ चुनाव भनियो त्यो भएन। 'प्रेसर क्रिएट' गर्ने समयमा पार्टीमा अनेक लफडा थियो। त्यस्तो बेला सुवर्ण शम्शेर नेतृत्व छाड्न राजी भए। त्यसपछि बीपीलाई दिइयो र त्यसको ३ वर्षपछि नेपाली कांग्रेसले दुई तिहाईको बहुमत ल्याएर सरकार बनायो।

अहिलेको अवस्थामा पार्टीभित्र त्यस्तै अन्तरद्वन्द्व छ। अन्तरद्वन्द्वलाई पनि सम्बोधन गर्नुपर्छ। बाहिरको आक्रमणलाई पनि सम्हाल्नुपर्ने। 'सक्किने नि सुध्रने' भन्ने कोणबाट सुध्रिएको सन्देश पनि दिनुछ। हामी फेरि 'रिभाइभ' हुनुपर्ने छ। पुन:जागृत कांग्रेस चाहिएको छ। नागरिकमा फेरि जोड्नुपर्नेछ। नागरिकलाई विश्वास बढाउनुपर्ने छ। पार्टीमा राम्रो गर्छन् भनेर भरोसा दिलाउनुपर्ने छ। त्यसैले नीति महाधिवेशन गर्ने कुरा ठीक छ। तर गर्ने सम्बन्धमा विधानअनुसार काम भएको छैन।

विधानअनुसार दुई महिनामा केन्द्रीय समितिको मिटिङ राख्यौं कि राखेनौं। विभागको गठन भयो कि भएन? कोषाध्यक्ष चयन गर्‍यौं कि गरेनौं। विधानअनुसार नै चलेको छैन। हामीले लोकतन्त्रवादी कसरी मान्ने? संविधान नै नमान्ने। डेटलाइन मिट गरेर आफूलाई फिट गर्नुपर्ने अवस्था छ।

हाम्रो सिस्टमले विधान मिच्दैन भने नीति बनाउँदा केही फरक पर्दैन। विधानमै भएको कुरा त हामीले मानिरहेको छैनौं भने यसको पालना गर्छ भन्ने के ग्यारेन्टी छ?

नीति अधिवेशनको विपक्षमा म हैन। विधान अधिवेशनसँगसँगै लिएका नीतिहरु कार्यान्वयन नहुने, मौजुदा विधानको पालना नहुने। यसलाई पनि नजरअन्दाज गर्नुहुँदैन।

नीति महाधिवेशन गर्नैपर्छ। अस्ति नेतृत्वमात्र चयन भयो। ६ महिनापछि गर्ने भनेको नीति महाधिवेशन। खै त अहिलेसम्म भएको? १७ महिना पुगिसक्यो। अझै हुने छाँटकाँट छैन। अब असारमा होला। नभए भदौमा।

नीति महाधिवेशन हुँदै गर्दा पार्टीको माया छ भन्ने हो भने नीतिमात्र हैन नेतृत्व परिवर्तनको आवश्यकता छ। विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नै आवश्यक छ। उपनिर्वाचन लगत्तै पार्टी सभापतिले ठूला दललाई जनताले चासो नदिएको कुरा राख्नुभएको छ। अफ्ठ्यारो परेको कुरा उहाँले बुझेरै बोल्नु भएको होला। नयाँ नेतृत्वलाई दिउँ भन्ने कुरा केही न केही सुझबुझ भएरै उहाँले राख्नुभएको होला।

त्यसैले नेतृत्वले समेत विशेष महाधिवेशनमार्फत पार्टीको हित र भविष्यको लागि नेतृत्व फेर्नुपर्छ भन्ने मेरो मत हो।

भदौमा भएको केन्द्रीय समिति बस्न सकेको छैन। संसदीय निर्वाचनपछि राख्ने राख्ने भन्दै संसदीय चुनावमा राम्रो नतिजा आएको भन्ने बुझाइ भयो। त्यसपछि बैठकै राखिएन। उपनिर्वाचनले फेरि 'डिफेन्सिभ' बनाइदियो।

केन्द्रीय सदस्यहरुको काम के? खाली पूजा गर्ने नियुक्तीमात्र हो त? कार्यसम्पादन समितिमात्रै भन्या छ। केन्द्रीय सदस्यको भूमिकालाई नजरअन्दाज वा अवमुल्यांकन गर्ने काम नहोस्।

केन्द्रीय समिति विधानले दुई महिनाभित्र गर्नु भनेको छ तर गरिरहेको छैन। विधान नै नमान्ने अनि अरुलाई प्रश्न गर्ने?

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटीसँग गरिएको कुराकानीमा आधारित।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell