PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस सुधार्न गोविन्द पोखरेलका तीन सुत्र, देउवा अस्वीकृत भएको अवस्थामा नीति अधिवेशन कर्मकाण्डीमात्रै



पहिलोपोस्ट

कांग्रेस सुधार्न गोविन्द पोखरेलका तीन सुत्र, देउवा अस्वीकृत भएको अवस्थामा नीति अधिवेशन कर्मकाण्डीमात्रै

  • प्रा डा गोविन्द पोखरेल-

नीति अधिवेशन गर्ने भनेको समस्यालाई टालटुल गर्ने हो। हाम्रो स्थानीय तहको घोषणापत्र, संघीय र प्रदेश निर्वाचनको चुनावको घोषणापत्र हामीसँग छँदैछ। हामी सरकारमा पनि छौं। हामीले हाम्रो घोषणापत्र कसरी लागू गराउने भन्नेमा लाग्नुपर्ने हो। जति पनि हामी जितेका छौं केन्द्र, स्थानीय तह र प्रदेशमा। अहिले त यी सबै तहमा कांग्रेसका एजेन्डा र प्रतिबद्धतामा काम गर्नुपर्ने हो।

हामीलाई नीति भन्दा पनि रणनीति चाहिएको हो। नीति प्रष्ट छ। जहाँसम्म लाग्छ नीति अधिवेशन भनेको अहिलेकै नेतृत्वलाई फेरि स्थापित गर्न हो। शेरबहादुर दाइकै नेतृत्वमा पार्टी छ। 'हाम्रै नीति, हाम्रै नेतृत्व' भनेर जाने कुरा हुन्छ। जुन जनताले अस्विकार गरिसकेको कुरा हो। नीति महाधिवेशन भनेको टालटुल गरेर यही नेतृत्वलाई 'भ्यालिडेट' गर्नु हो।

हामी सबै प्रकारका सरकारमा सहभागी छौं। पहिलो त जनतालाई ‘डेलिभरी’ दिनुपर्‍यो। त्यसको अनुगमन गर्ने कार्यान्वयन गर्ने ‘रिभ्यु’ गर्ने हुनुपर्‍यो।

दोस्रो कुरा के कारणले हाम्रो संगठनमा शिथिलता आएको छ? के कारणले अनुशासनहीनता आएको छ? युवाहरु कांग्रेसमा भनेजति किन आकर्षित हुन सकेका छैनन्? यसको एउटा अनुसन्धान हुनुपर्‍यो। हाम्रो संगठन ६ हजार ८४३ वडामै छ। ती सबै वडामा हामीले प्रश्न सोधेर के गर्नुपर्‍यो भने कांग्रेसका समस्या के के हुन् त? हामीले कम्तीमा १० वटा प्रश्न गरौं। प्रश्न बनाएर सबै वडामा प्रश्न पठाएर कार्यकर्तामार्फत आम जनताले कांग्रेससित के अपेक्षा राख्छ? कांग्रेस कस्तो हुनुपर्छ? कांग्रेसले कहाँकहाँ सुधार गर्नुपर्छ? कांग्रेसको यत्रो संरचना छ। पार्टीभित्र दुई जना युवा महामन्त्री हुनुहन्छ। १५ दिन बसेर पार्टी कार्यालयमा सबै वडामा प्रश्नपत्र पठाए १५ दिनभित्र उत्तर आइसक्छ अहिलेको आइटीको जमानामा। त्यो मोडालिटीमा जानुपर्‍यो नि। कर्मकाण्डी नीति अधिवेशनले अहिलेको नेतृत्वमा बनाएको नीतिमा साच्चै जनतालाई आकर्षण गर्छ जस्तो मलाई लाग्दैन। हिम्मत भए विशेष महाधिवेशन गर्ने हो। नसके तीनै तहमा हाम्रा सरकार छन्। दुबै महामन्त्रीले बनाएको स‌ंकल्पपत्र कार्यान्वयनमा जोड दिनुपर्‍यो।

नीति, रणनीति चाहिँ कार्यकर्ताबाट आएको सुझावपछि गर्ने हो। अहिले हामीले गठबन्धन गर्‍यौं। पछाडि पर्नुको कारण के हो? कम्तीमा केन्द्रीय समिति बैठक राख्न चाख नदिनेले यो नीति अधिवेशनले कुनै उपलब्धि हासिल होला जस्तो लाग्दैन। यो कर्मकाण्डमात्र हुनेछ।

तेस्रो, पार्टीको संरचना भीमकाय छ। शुभेच्छुकदेखि भ्रातृ निकाय। वडा सदस्यदेखि केन्द्रीय सदस्यसम्म १० लाख जति मान्छे नै ‘इन्गेज’ छन्। यसरी पद ओगटेर बसेको मान्छेहरुलाई परिचालन गर्ने रणनीति नगरेर नीति महाधिवेशन गरेर के होला? महाधिवेशनपछि दुईवटा संकल्पपत्र बनाएको छ हामीले। त्यही आधारमा ‘रिसर्च’ गरौं न।

उपचुनावको बारेमा ‘फर्मल’ समीक्षा गर्नलाई सभापतिले आह्वान गर्नुपर्ला। तर ‘इन्फर्मल’ समीक्षा गर्न त हाम्रा दुईटा युवा महामन्त्री हुनुहुन्छ। केन्द्रीय कार्यालयमा पटकपटक बैठक राख्न सकिन्छ नि। त्यो पनि छैन। सभापतिले त गर्नुभएन। युवा महामन्त्रीहरु, डा शेखर कोइराला उहाँहरुले कमसेकम समूहको बैठक बोलाएर समीक्षा गर्न सकिन्थ्यो नि। ग्रुपले त रिभ्यु गर्नुपर्थ्यो नि। समूहले नगरे पनि दुईजना महामन्त्रीले त अनौपचारिक समीक्षा बैठक पार्टी कार्यालयमा गर्न सक्थ्यो नि। त्यही भएर नीति महाधिवेशनले अहिलेको नेतृत्वको कार्यशैलीलाई बोक्ने र समस्यालाई पर सार्ने खेलमात्र हो।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा पोखरेलसँग गरिएको कुराकानीमा आधारित।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell