काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर चालकसहित ४ जना घाइते भएका छन्। चालक सुरेन्द्र पौडैल र एक स्थानीय भने गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो। जिल्ला प्रशासन कार्यालय संखुवासभाका साहायक सिडिओ मोहनमणि घिमिरेले बताए।
'सेनाको हेलिकप्टर अर्कै कामले आएको थियो। अहिले त्यही हेलिकप्टर उद्दारमा पठाएका छौं,' घिमिरेले भने।
हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। अरुण जलविद्युत आयोजनाका लागि सामान बोक्न हेलिकप्टरको प्रयोग भएको थियो। अन्तिम ढुवानीको लटका क्रममा दुर्घटना भएको थियो। सामान बोकेर ल्याउने क्रमममा पंखा ठोकिएर दुर्घटना भएको भोटखोला गाउँपालिका वडा नम्ब ४ का वडा अध्यक्ष विकास तामाङले बताए।
'हेलिकप्टर दुर्घटना हुन लागेपछि एक जनाले हेलिबाटै हाम फालेर घाइते भएको देखियो,' वडाध्यक्ष तामाङले भने।
हेलीले सडकबाट करिब ३ किलोमिटर दुरीमा सामान बोकेर लगेको थियो। तामाङ अहिले घटनास्थलमा नै छन्।