काठमाडौं : सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। पार्टी कार्यालय बसुन्धारामा बैठक सुरु भएको हो। वैशाख १० मा सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनपछि रास्वापाले सरकारमा जाने नजानेबारे निर्णय गरेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रास्वपालाई सहभागी गराउन पहल गरिरहेका छन्। रास्वपाले उप निर्वाचनमा चितवन-२ र तनहुँ-१ मा चुनाव जितेको थियो। अहिले २१ सांसद रहेको रास्वपा प्रतिनिधि सभाको चौथो ठूलो दल हो।
सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी अदालतको माघ १३ को फैसलाले सांसद र मन्त्री पद गएको थियो। उनी अहिले उप निर्वाचनमार्फत सांसद भइसकेका छन्। यसअघि रास्वपा उपप्रधान सहित गृह मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो। अहिले पनि साबिककै मन्त्रालय रास्वपाले मागेको माओवादी केन्द्रका नेताहरुले बताइरहेका छन्। रास्वपाले मागेकै मन्त्रालय दिएर भए पनि सरकारमा सहभागी गराउनुपर्ने पक्षमा माओवादी छ। प्रचण्डले बिहीवार मात्रै कांग्रेसका तीन नेतालाई मन्त्री बनाएका थिए।