वीरगंजः बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन्।
प्रधानमन्त्रीको पुतला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन्।
प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए।
यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए। प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाईदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए।
प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको काम समेत प्रभावित बनेको छ। चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ।
नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आएका छन्।