PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जब सिंगो उपत्यकामा हामीमात्रै पाहुना लाग्यौं : काठमाडौं नजिकैको लोभलाग्दो गन्तव्यको यात्रा कथा

जब सिंगो उपत्यकामा हामीमात्रै पाहुना लाग्यौं : काठमाडौं नजिकैको लोभलाग्दो गन्तव्यको यात्रा कथा

ऋषिकेश दाहाल/पहिलोपोस्ट


हेलिप्याडमा थुप्रिएको हिउँमाथि ‘गो प्रो’ गाडेर प्रवीन अरुतिरै भौतारिँदै छ। ‘टाइम ल्याप्स’ खिच्दाखिच्दै ब्याट्री सकियो होला। क्यामरा चिसिएर हिउँभन्दा चिसो भइसक्यो होला। अहँ ! प्रवीनको अनुहारमा चिन्ताका कुनै धर्का देखिएन।

दुई घन्टा भइसक्यो क्यामरा छोडेको।

‘यहाँ को नै छ र? सबै ठाउँ आफ्नै त हो।’

सबै ठाउँ आफ्नो ! एउटा मिनी उपत्यकामा हामीमात्र।

जीवनमा कुनै यस्तो ठाउँमा पुगिएला भन्ने अन्दाज थिएन जहाँ हामीमात्रै हुनेछौं।

‘तपाईँहरु र म गरेर यहाँ ९ जनामात्र। अनि एउटा कुकुर,’ सानुकान्छा वाइबाले सुनाएका थिए अघिल्लो रात। त्यसैले क्यामराको कुनै सुर्ता थिएन प्रवीनलाई।

अघिल्लो दिन हामी यहाँ पुग्दा सिंगो बस्तीमध्ये एउटामात्र छानोबाट धुँवा पुत्पुताइरहेको थियो। सानुकान्छा हाम्रा लागि न्यानो जुटाउने तयारीमा थिए। लौरी विनायकको सिढीं ठाडै चढेपछि हिँउले छोपेको बाटो पहिल्याउँदै थोरै उकालो लागेर यहाँ आइपुगेका हौं। यो मिनी उपत्यकामा पुग्दा कोही थिएनन्। फर्किनेहरु चाहिँ फर्किसकेका थिए। चट्टानी पर्वतका केही अंश र पोखरी बाहेक सबैतिर हिउँ नै हिउँले ढाकिएको थियो। ‘अफ सिजन’को यात्रा अनि हामीमात्र पाहुना। आफैमा फरक अनुभव।

आउनुस् हामीसँगै सिन्धुपाल्चोकको पाँच पोखरी यात्रा गरौं।

+++

काठमाडौंका रैथानेबिच पाँच पोखरी परिचित भए पनि एउटा दुर्गम् र कष्टप्रद यात्राको विम्ब। जनै पूर्णिमा लक्षित मेलामा जानेहरुको एउटा गन्तव्य। चामल-पिठोको जोहो गरेर ओढारमा बास बस्दै पुग्ने। झरीको मौसम हुनाले भिज्नु त स्वभाविक भइहाल्यो। अनि राम्रा फूलहरुको 'भयपूर्ण' सुगन्धको बयान। लेक लागेर भोगेका बिलौना। सुन्दरताभन्दा बढी त्रासदीपूर्ण कथन। त्यसैले हुनुपर्छ लुकेरै रह्यो यो ठाउँ। काठमाडौं उपत्यका बाहिरका धेरैका लागि त नसुनेको नाम।

केही वर्षअघि पत्रकार कनकमणि दीक्षितले लामै आलेख प्रकाशित गरे पाँच पोखरीमाथि। पर्यटकीय र सांस्कृतिक हिसाबले सिन्धुपाल्चोकको यो गन्तव्यलाई चिनाउने सबैभन्दा गहकिलो सामग्री । दीक्षितको आलेखबाहेक छिटफुट 'भ्लग'हरु पनि छन् पाँच पोखरीतिर खिचिएका।

जनै पूर्णिमाको दिन मानिसहरु यहाँ यसरी उर्लेर पुग्छन् कि ओत लाग्ने ठाउँका लागि ठूलै संघर्ष हुनेगर्छ। हिमालको फेदमा हरियो अनि भुईँमा फुलेका फूलहरुको रौनकता अलग्गै। तर, हिउँदमा? हिउँ पर्दाको अनुभव चाहिँ पत्रकार सागर बुढाथोकीले सुनाएका थिए। हिउँमा कम्मर कम्मर डुब्दा पनि जोखिम मोलेर पाँच पोखरी पुगेका उनले भनेका थिए – 'धन्न बाँचेर फर्किएँ।'

‌+++

‘कस्तो फुङ्ग उडेको समयमा जान लाग्नु भएको? साउनमा पो हो जाने, फूलैफूल हुन्छ त्यतिखेर,’ पाँचपोखरीका लागि जोरपाटीबाट बस चढेपछि एक महिला यात्रुले भनिन्। उनका अनुसार हामी पूरै 'अफ सिजन'मा हिँड्दै थियौं।

‘म त नौ चोटी पुगिसकेँ,’ बसका अर्का यात्रीले सुनाए, ‘नौ चोटी पुगेको नौ वटै भाकल पूरा भयो।’ घर लेकतिरकै भए पनि उनी मेलम्चीसम्मका यात्री। उनका कुरा रोचक थिए।

‘छोरो भएन भनेर बुढी सहित लिएर गएँ। भाकल गरेँ। छोरो भयो। मागेको सबै पुग्यो। तर, छोरो चाहिँ येशू बनेर हिँड्यो। बुढी पनि बितिन्। एक्लै छु,’ उनले सुनाए।

पाँच पोखरीको यात्रा हामीले नारायणटारस्थित वाग्मती पुल नजिकैको बस स्ट्यान्डबाट सुरु गर्‍यौं। जनही ६ सय ५० रुपैयाँ टिकेट काटेपछि छिम्तीसम्म बसयात्रा। त्यहाँबाट पैदल। बस बिहान ६:२० मा छुट्यो, भने अनुसार नै। ११:१५ मा छिम्ती। बिचमा मेलम्चीमा ५ मिनेटमात्रै रोकियो। ‘सुपर एक्सप्रेस’ बसको नियम नै रहेछ चिया खान पनि नरोकी समयमै पुर्‍याउने। बस यात्रा आफ्नै सवारीमा हिँडेभन्दा असहज थिएन। बरु ‘भ्यालु एड’ चाहिँ थियो – ‘बसमा रहेका यात्रुका पाँचपोखरी अनुभूव र अनुभूति।’

लेकका लोभलाग्दा दृश्यले जो कसैलाई लोभ्याउने रहेछ। बस्तीका बिचमा भव्य भवन देखियो कि विद्यालय हुन् भन्ने चिन्न कठिन भएन। २०७२ सालको भूकम्पको उपहार नै भन्नुपर्छ – दुर्गम भेगमा विद्यालय संरचना। पर्याप्त पानी र बस्तीका बिचमा खेतीपातीले लोभलाग्दो रहेछ छिम्ती र वरपरका गाउँहरु। छिम्तीमा बसबाट उत्रिनासाथ देखियो झरना। ड्र्यागन झरना भन्दा रहेछन् त्यसलाई। पाइपबाट पानी ल्याएर भिरबाट झारेका रहेछन्।

छिम्तीमा खाना खाएपछि हामीले ‘अफ सिजन’को यात्रा अगाडि बढायौं। पहिलो रात हामी टुपी डाँडामा पुग्नुपर्ने। तीनदेखि चार घन्टाको यात्रा। छिम्ती कटेपछि हामी पदयात्रा मार्गमा छिरिहाल्यौं। यहाँदेखि अब हामीलाई मोटरका आवाज सुन्नु छैन। धुँवा धुलो मुक्त पनि। यस यात्रामा १३ देखि ६३ वर्ष उमेरका छौं एकैसाथ।

+++

मध्ये बैशाखमा ढकमक्क लालीगुराँस। पदयात्रा थालेको पाँचै मिनेटमा गुराँसघारी पुगेपछि हाम्रो ‘अफसिजन’को यात्रा पूरै ‘सिजनेवल’ बन्दैछ भन्ने पक्का भइसकेको थियो। यसपाला धेरैतिर गुराँस नफुलेको समाचार पढेकाले होला यताका दृश्य अप्रत्यासित लाग्यो। सुरुमा लालीगुराँससँग जम्काभेट भए पनि पछि कम लालीको हुँदाहुँदै लालीविहीन गुराँस पो भेटिन थाल्यो।

फेदतिर धेरै लालीगुराँस भेटिँदा माथितिर चाहिँ सेता धेरै। कतै सेतै घारी त कतै कलेजी कलेजीमात्रै। कतै गुलावी घारी त कतै निख्खर रातो। रोचक यसकारण पनि रह्यो कि कतै सुकिसकेका गुराँस त कतै कोपिला फक्रिने अवस्थाका !  एकै भुगोलमा गुराँसका प्रजाति र तिनको फूल्ने प्रवृत्ति अचम्म लाग्दो। एकैखाले रङ एकैखाले घारीमा अनि फरक रङ्का चाहिँ फाट्टफुट्ट मिसिएका। चरा वा भेडाका बथान झै रङ्गअनुसार कित्ताकाट गरेर बसेका झै लाग्ने गुराँसका बोटहरु।

गुराँसका यिनै रुपमा रमाउँदा रमाउँदै गन्तव्य पुगियो। गज्जबका उकाला पत्तै नपाए झै उक्लिइसकिएछ पो! फर्किने दिन मात्र हामीले चाल पायौं – कति ठाडो बाटो उक्लिएका रहेछौं भन्ने। फुर्सदले हिँडेका हामी चार घन्टा लगाएर टुप्पी डाँडामा बास बस्न पुग्यौं।

छिम्तीमा खाना खाँदा यहाँका टी हाउस संचालकसँग भेट भइसकेको थियो। उनी सानो छोरालाई श्रीमानसँगै छोडेर गाउँतिर झरेकी रहिछिन्। हामीभन्दा एकघन्टा ढिलो माथितिर उक्लिन थालेकी उनी हामीभन्दा एकघन्टा अगाडि नै चुल्हो धुँवाउन पुगिसकेकी थिइन्।

+++

बिहान जति हिँड्यो दिउँसो उति सजिलो। हाम्रो यात्राको सुत्र यही थियो। टुपी डाँडाबाट हिँडेपछि चोखर डाँडासम्म बिचमा केही नपाइने। सबैभन्दा कठिन उकालो यही खण्डमा पर्ने रहेछ। पानीका लागि पीर थिएन – कलकल बगिरहने धारो छिनछिनमै मिलिरहने। माथितिर हेर्‍यो भने भिर देखिने। बाटो नदेखिने। भिरले बाटो नै गायब बनाएजस्तो। उकालोमा निहुरिँदै पाइला चाल्नु सबैभन्दा उत्तम उपाय। हाम्रा लागि सल्लाघारीमा तेर्सो हिँड्नु कुनै कठिन काम थिएन। गुलावी गुराँसका घारीपछि सेता गुराँसका घारी। त्यसपछि कलेजी। फरक फरक रङ्गहरुले हामीलाई माथितिर तानिरह्यो।

जसरी एकैखाले रङ्गका गुराँस घारीमा अर्को रङ्गको एउटामात्रै गुराँसको बोट देखियो त्यस्तै पात्र भेटिइन् चोखर डाँडामा।

नाम : नाम डिकु शेर्पा

उमेर : २१

टुपी डाँडाबाट हिँडेपछि चोखर डाँडामा मात्र बस्न र खानको सुविधा छ। डिकु शेर्पा एक्लै टि हाउस चलाउँछिन्। यस क्षेत्रमा उनी एक्ली शेर्पा, बाँकी सबै तामाङ। ओखलढुङ्गाबाट बिहे गरेर आएकी हुन् डिकु।

यस्तो एकलास ठाउँमा एक्लै बस्न डर लाग्दैन?

‘खासै डर लाग्दैन। मानिस धेरै भए भने एक्लैले काम भ्याउन गाह्रो हुन्छ,’ डिकुले भनिन्। उनको टी हाउसमा २० जनासम्म अटाउँछन्। यहाँभन्दा तल देउराली छ। त्यसभन्दा पारी उनको गाउँ – पाँचपोखरी थाङपाल वडा नम्बर ३। मोबाइल चार्ज गर्न उनी गाउँसम्मै पुग्नुपर्छ। जुन ठाउँमा उनको टी हाउस छ त्यहाँ मोबाइलले टावर टिप्छ। इन्टरनेट पनि चल्छ। उनका श्रीमान् दुबईमा छन्। इन्टरनेटले दुबईसम्मको दुरीलाई कम गरिदिएको छ।

‘तीन वर्ष भयो यहाँ बस्न थालेको,’ डिकुले भनिन्, ‘एक्लैजस्तो सबै सम्हाल्नुपर्छ।’

हामी यहाँ पुग्दा डिकु इन्टरनेटमा नै व्यस्त थिइन्। उकालोले गर्मी महसुस गराए पनि यहाँ निक्कै चिसो थियो। हामीले यहाँ चिया पियौं। शौचालय र पानीको सुविधा भएकाले हिँड्नेका लागि डिकुको टि हाउस अनिवार्य रोकिने स्टेशन बनेको रहेछ।

मानिसहरु टुपी डाँडा या नोस्याङ डाँडामा बास बस्छन्। टुपी डाँडाबाट नोस्याङ पुग्न नसक्नेका लागि उनको टी हाउसमात्र विकल्प रहेछ। ‘बास बस्न प्राय मानिस तल या माथि नै जान्छन्। चिया खाजा खानेहरु हुन्छन् यहाँ,’ उनले भनिन्।

+++

चोखर डाँडाबाट थोरै ठाडो उकालो लागेपछि भने बाटो निक्कै लोभलाग्दो। दुवैतिर गुराँस घारी बिचमा पदमार्ग। पाँचपोखरी थाङपाल गाउँपालिकाले यहाँ पर्यटन प्रवर्द्धनका लागि जे गरेको छ त्यो निक्कै सह्रानीय लाग्यो।

नोस्याङ गाङ (डाँडा) पुग्दा स्याँठ भने उल्कै चलिरहेको थियो। एकैछिन बादल हट्दा यहाँबाट आँखाभरि हिमालै हिमालका दृश्य ठोकिए। छिनमै बादलले छोपेपछि नजिकै निख्खर कालो चट्टानी पहाड र सुकेका बुट्यानहरुमात्र। चिसोमा तात्तातो दालभात खाएपछि हामी हेलिप्याड हुँदै माथितिर उडान गर्न थाल्यौं – आफ्नै खुट्टाको सहारामा। काठमाडौंबाट हिँडेको दोस्रो दिन यति गजबको ठाउँमा पुगिने कल्पना पनि गरेका थिएनौं हामीले।

रमाउँदै अगाडि बढ्दा फाप्रे झर्दै थियो। फाप्रेका दाना झरिरहँदा माथितिर हिउँ थपिँदै गरेको अनुमान गर्न कठिन थिएन। किनकि जति उत्तर पूर्वतिर हामी हानिँदै थियौं, मडारिरहेको कालो बादल त्यतैतिर पछ्याउँदै थियो। चट्याङ्का आवाजहरु पनि तरङ्गित हुँदै थिए – विशाल चट्टानमा ठोक्किँदै। नोस्याङबाट हामी कहिले उकालो त कहिले ओरालो गर्दै थियो। ओरालो थोरै र उकालो चाहिँ धेरै। नोस्याङबाट पाँचपोखरी बिचमा सबैभन्दा लामो उकालो चाहिँ लौरी विनायकको थियो।

+++

लौरी विनायक पुग्नुअघि नै हामी हिउँले आधा ढाकेको पदमार्गबाट यात्रा गरिरहेका छौं। देख्दा नजिकै लागे पनि दुरी भने लामै रहेछ। हामीजस्तै आउने पर्यटकका लागि सजिलो होस् भनेर स्थानीयले हिउँ पन्छाइदिएका रहेछन्। एक साताअघि हिउँलै पूरै ढाकेपछि उनीहरुले हिउँमा बेल्चा चलाए। पदमार्ग फराकिलो भए पनि आधाभन्दा बढी भाग चाहिँ हिउँले ढपक्कै। एक ठाउँमा त दुईतिर हिउँको डिस्को बिचमा बाटो।

फर्किनेहरु धेरैजसो उक्लिनेलाई हौसला दिने खालका थिए। लगातार उकालो यात्रा गरिरहँदा उनीहरुले भन्थे –'आइहाल्यो। लौरीबिना कटेपछि सबै थकाइ एकैचोटी सकिन्छ।'

नभन्दै लौरी विनायकको १ सय ३६ वटा सिढीं गन्दै पार गर्दा नयाँ संसारमा पुगे झै अनुभूति भयो। बाटोमा थोरै हिउँ देखेका हामीसामु अब हिउँबाहेक केही थिएन। बाटोको निसान समेत छैन। त्यसमाथि आकाशबाट फुसफुसाइरहेको हिउँ। अर्थत् सबैतिर हिउँ। यो अर्कै हिउँको उपत्यका। यहाँ टी हाउस चलाउने व्यक्तिलाई हामीले निक्कै तल भेटेका थियौं जो गाउँतिर झर्दै थिए। त्यसैले चिया खानका लागि हामीसँग यहाँ कुनै विकल्प थिएन। तर्पाएँ तर्पाएँ हुँदै हामी फेरि उक्लियौं र पुग्यौं एउटा अर्को मिनी उपत्यका। दिउँसो ३:३० बजे हामी पाँच पोखरी पुग्दा यहाँ बास बस्न पुगेका पाहुनाहरु सबै फर्किसकेका थिए। बाटोमा भेटिएकाहरु तिनै थिए।

शब्द अनि क्यामराले समेत कैद गर्न नसकिने दृश्यका अनुभूतिहरु एकैसाथ हामी कब्जा गरिरहेका थियौं। दौडिँदै हेलिप्याडमा पुगेर हामी चिच्यायौं। अध्याँरो हुन निक्कै बाँकी थियो – रमाउनका लागि पर्याप्त समय। हामी तल र माथि गरिरह्यौं। कठ्याङ्ग्रिँदो चिसोबाट बच्न भने हामी फेरि गुडुल्किँदै आगोको तातोतिर झुम्मियौं।

हामी जहाँ बास बस्यौं नसोचेको सुविधा थियो। टी हाउस निक्कै सुविधायुक्त। बाहिर करिडोर अनि मात्र कोठा। त्यसैले बाहिरको चिसो भित्र छिर्न नसक्ने। शौचालय पनि भित्रै करिडरको पल्लो कुनामा। यहाँ पुग्दा हामीसँग भएका डिभाइसका ब्याट्री सखाप भइसकेका। सानुकान्छाले जेनेरेटर चलाए र हाम्रो चिन्ता दुर गरे। टी हाउसको पश्चिमी कुनामा रहेछ जेनेरेटर जसबाट निस्किने ध्वनी प्रदुषण बाहिरिँदैन रहेछ।

+++

भोलिपल्ट बिहान 'भ्यू पोइन्ट' जाने योजना थियो। बादल यसरी लाग्यो कि थप उकालोतिर लाग्नु अर्थहीन। उकालिन नपाएपछि प्रवीनले हेलिप्याडमा पुगेर जमेको हिउँमाथ 'ग्रो प्रो'को स्टिक गाड्यो। अनि उडान गर्‍यो ड्रोनको। म भने अलि धेरै नै उत्साही थिएँ। मलाई यहाँको चिसोसँग साक्षत्कार गर्नु थियो।

‘म त नुहाउने हो।’

श्रीराम पौडेल दाइ पनि तयार - ‘म पनि जान्छु।’

सबैतिर हिउँले कक्रक्क। तर यहाँको शिव मन्दिर मुनि हुँदै पानी भने बगिरहेको। बिहान पाँचै पोखरीको माथिल्लो सतहमा ठाँटो जमेको थियो। बाक्लो लुगा लगाउँदा पनि लुगलुग कापिँरहेका हामी हिउँकै छेउमा नाङ्गियौं। कुण्डभित्र पस्यौं। त्यसपछि हिउँको च्यादरले बिछिएको भूमिमा नाच्न थाल्यौं। फोटो खिच्ने उद्देश्य थिएन – आफ्नो तन र मनको परीक्षण गर्नु थियो। हामी नुहाएपछि हिउँमा नाचिरहेको देखेपछि प्रवीनले ड्रोन हामीमाथि ल्याइपुर्‍यायो।

नढाँटी भन्दा लुगा लगाएर लुगलुग काँपिरहँदा भन्दा न्यानो थियो हाम्रो हर्कत। चिसो पानीमा भिज्नु र हिउँमा नाङ्गै पैताला नाच्नु दुस्साहस नै हो। तर, मन लागेपछि लाग्यो ! पटक्कै चिसोको अनुभूति भएन। रोमाञ्चकता चाहिँ अत्याधिक।

+++

किम्बदन्ती अनुसार जहाँ शिव पार्वती किसानको भेषमा खेती गर्थे। धान फलाउँथे। त्यहीँ हामी नाचेका रहेछौं। सुन्दा झनै रोमाञ्चित भयौं। उक्त कथन अनुसार ४ हजार २ सय मिटरको उचाईमा २३ सय वर्ष अघि बुम्बा रुवा वाइबा सिकार खेल्दै यहाँ पुगेका थिए। उनले खेती किसानी गरिरहेका मानिसहरु देखे यस्तो हिमाली ठाउँमा। धान रोपिरहेको, हलो नारिरहेको देखेर चकित परे। जब उनले ती दृश्य देखे एकाएक देखिएका सबै वस्तु अलप भए। बुम्बा रुवा वाइबाले पहिचान गरे – यो त शिव र पार्वतीको बास भएको ठाउँ रहेछ। किसान भेषमा बसेका रहेछन् नत्र यस्तो भूमिमा धान कहाँ फल्छ? किम्बदन्ती सुनाउँदै गर्दा सानुकान्छाले आफू पनि बुम्बा रुवा वाइबाकै खलक भएकोमा गर्व गरे।

जहाँ सबै अलप भए भनियो त्यहाँ अहिले मन्दिर छ। त्यही मन्दिरको मुनिबाट अविरल इन्द्रावती तलतिर बग्छ। तल फेदमा पुगेपछि इन्द्रावतीमा मेलम्ची समाहित हुन्छ। इन्द्रावती चाहिँ सुनकोसीसम्म नजोडिँदा अस्तित्वमा रहन्छ।

सानुकान्छाले हामीलाई धान खोज्ने कुरा पनि सुनाए। जनै पूर्णिमामा यहाँ तीर्थ भर्न आउनेहरु धानका बाला खोज्दा रहेछन्।

‘तीर्थ आउँदा भक्तपुरको नेवारले धानको बाला भेटाएछन्। त्यसपछि लिएर गए। त्यसैको प्रताप हेर्नुस् त नेवारहरु कति धनी?,’ सानुकान्छाले सुनाए।

व्यापार व्यवसायमा सफलताको ‘राज’यहीँ भेटिएको धानको बाला भन्ने किम्बदन्ती रहेछ। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र पनि भक्तपुरबाट सबैभन्दा धेरै मानिस यहाँ पुग्ने रहेछन्।

+++

सिंगो उपत्यकामा हामीमात्र पाहुना आफैँमा अलग अनुभूति थियो। हामी नास्ता सकेर फर्किँदै थियौं – मानिसहरु अघिल्लो दिन हामी जसरी उक्लेका थियौं, त्यसरी नै उकालिँदै थिए। फर्किँदा हामीले देखेका दृश्यहरु चाहिँ केही बिझाउने थिए।

उक्लिँदा हामी गुराँसका घारीमा रमाइरह्यौं। फर्किँदा ती ठाउँमा पनि आँखा परे जहाँ प्लास्टिक र फोहरहरु मिल्काइएका थिए। पत्रकार दीक्षितले आलेखमा भनेजस्तो सफा थिएन हामीले देख्दा। तर, अन्य गन्तव्यको तुलनामा चाहिँ अझै पनि सफा नै हो यो ठाउँ।

मानिसहरु यहाँ उक्लिनेक्रम बढेसँगै फोहर पनि उक्लिन थालेको छ। ठाउँठाउँमा फोहर नगर्न सम्झाउने बोर्डहरु भेटिए पनि नेपाली न हुन् – पारा देखाइहाल्ने।

‘कसरी सफा राख्‍ने भन्ने हामीलाई पनि चिन्ताको विषय बनेको छ। नेपालीको बानीकै शुद्धिकरण गर्नुपर्ने भएको छ,’ पाँच पोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भने।

उनले पनि अनुभव गरेका छन् माथितिर फोहर उक्लिन थाल्यो। सरसफाइको अभियानका लागि सक्रियता जनाएका छन् उनले। तर, फोहर बटुल्दैमा सफा हुने होइन। हुन्थ्यो भने पूर्व मुख्य सचिव लीलामणि पौडेलको फोहर टिपेर वाग्मती सफा गर्ने अभियान सार्थक भइसक्थ्यो। पौडेलले फोहर टिप्दै अनगिन्ति सप्ताह मनाए तर उनले थालेको समयभन्दा खराब हालतमा बगिरहेको छ वाग्मती। टासीलाई थाहा छ - फोहोर टिपेर पाँच पोखरी सफा हुन्न।

‘पाँच पोखरीमा बसेको संरचनालाई नै हटाउनुपर्छ जस्तो लागिरहेको छ। ती संरचनाले पोखरीको क्षेत्रमा पनि फोहर बढेको छ,’ लामाले भने, ‘ती संरचनालाई दुई तीन सय मिटर तलतिर सार्‍यौं भने पोखरी क्षेत्रमा फोहर केही हदसम्म नियन्त्रण गर्न सकिएला। त्यसबारे अध्ययन गरिरहेका छौं।’

+++

गाउँपालिकाका अध्यक्ष लामाका अनुसार संसारको सबैभन्दा उचाईमा रहेको तालमध्ये नवौं स्थानमा पर्छ पाँच पोखरी। अध्यक्षका हैसियतमा लामा गाउँपालिकामा दोस्रो कार्यकाल चलाइरहेका छन्। पाँचपोखरीलाई गन्तव्यका रुपमा स्थापित गर्न सक्रिय उनको काम हामीले जति माथि उक्लियौं उति नै देख्यौं। पहिलो दिनको यात्रामा टुपी डाँडातिर उक्लिँदा बाटो जति असहज थियो दोस्रो दिनको लौरी विनायकको उकालो तुलनात्मक रुपमा सजिलो।

‘माथि धेरै नै काम भएको रहेछ। बाटो पनि सजिलो, भिरमा रेलिङको सुरक्षा पनि। तलतिर चाहिँ असहजिलो।’

हाम्रो अनुभूति मैले सेयर गरेँ। लामाले त्यसको कारण खुलाए -

‘हामीले पाँच पोखरीलाई शून्य मानेर काम थाल्यौं। जति उचाईमा गयो उति हिँड्न गाह्रो हुन्छ। त्यसैले ट्रेल राम्रो बनाउन माथिबाट नै थालेका हौं,’ लामाले भने, ‘अब क्रमश: तलतिर पनि बनाउँदै लैजान्छौं।’

स्थानीय तहको निर्वाचन २०७४ बाट गाउँपालिकाको नेतृत्व सम्हालेपछि उनको प्राथमिकतामा पाँचपोखरी ट्रेकिङ रुट पर्‍यो। त्यसको प्रवर्द्धनका लागि २०७५ सालबाटै हाइ अल्टिच्युड म्याराथनको थालनी पनि भयो। लगातार दुई वर्ष प्रतियोगिता भएपछि कोभिड १९ ले बिथोल्यो। सगरमाथा आरोही माया गुरुङको पनि लोभलाग्दो सक्रियता थियो म्याराथनका लागि।

बाटोमा असजिलो ठाउँमा झोलुङ्गे पुल पनि गाउँपालिकाले बनाइसकेको छ। बाटो सहज हुन थालेपछि मानिसहरु पनि बढ्दै छन्। हामी फर्किरहँदा सेतोपाटीका पत्रकार सविना श्रेष्ठ साथीहरुसँग माथितिर उक्लिँदै थिइन्। त्यसबाहेक पनि दुईवटा टोली लौरी विनायक नजिकै पुगिसकेको थियो।

जुन बाटो हामी उक्लियौं त्यही बाटो लगातार ओर्लिएर हामी छिम्ती पुग्यौं। माथितिर हिउँ झरिरह्यो भने तल पानीले पिट्यो हामीलाई। छिम्ती पुग्दामात्र थाहा भयो हामी कति धेरै उकालो उकालिएका रहेछौं। आफैँ अचम्मित र रोमाञ्चित भयौं – त्यो विशाल हिउँले भरिएको पर्वत पार गरेर पाँच पोखरी उपत्यकामा पुगेकोमा। गुराँसको लोभलाग्दा दृश्य र हिउँको रमाइलोले हामीलाई सन्तुष्ट बनायो।

तीन दिनको यात्रा पूरा गरेर हामी भोलिपल्ट काठमाडौं फर्कियौं। उखरमाउलो गर्मी थियो हामी काठमाडौंबाट हिँड्दा। फर्किँदा हामीसँगै चिसो काठमाडौंतिरै आइसकेछ। मलाई चाहिँ पाँच पोखरीमा नछोएको चिसोले काठमाडौंमा छोएको अनुभूति भइरह्यो।



ट्रेन्डिङ पोस्ट

Ncell