PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एउटै अपराधमा बाबुछोरा कनेक्सनको कथा : कोही हिरासतमा त कोही फरार !



सविन ढकाल

एउटै अपराधमा बाबुछोरा कनेक्सनको कथा : कोही हिरासतमा त कोही फरार !

काठमाडौं: जब धमाधम आरोपित समातिन थाले त्यसपछि उनी फरार भए। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि खोजतलासमा छ प्रहरी। तर, उनी भेटिएका छैनन्। उनी नेपाल छोडेर भारत पुगेको अनुमान मात्र गर्छ प्रहरी। तर, उनी कहाँ छन्? खुलेको छैन। प्रहरीको खोजीको पात्र हुन् - निरज राई।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका अर्का पात्र हुन् निरज। डा इन्द्रजित राईका छोरा। त्यसो त उनको अर्को परिचय व्यवसायीका रुपमा पनि छ। चेम्बर अफ कमर्शका सदस्य। इन्द्रजित राई रामबहादुर थापा गृहमन्त्री हुँदा गृह मन्त्रालयमा सल्लाहकार भएर छिरेका थिए। लामो समयसम्म उनी गृह मन्त्रालयको सल्लाहकार भए। बाबु गृहको सल्लाहकार हुँदा निरजले फाइदा लिएको अहिले खुल्छ। लेनदेनकै आरोपमा डा इन्द्रजित राई अहिले हिरासतमा छन्। उनका छोरा चाहिँ फरार।

गएको मंगलवार इन्द्रजित राई समातिएका हुन्। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनलाई ललितपुरबाट पक्राउ गर्‍यो। केही दिन यता उनी प्रहरीको हिरासतमा छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने धन्दामा सक्रिय रहेको अभियोगमा उनी समातिएका हुन्। ठगी गिरोहसँग मिलेर गृह मन्त्रालयमा रहँदा सेटिङ मिलाएर करोडौं रकम उठाएको आरोप बाबुछोरामाथि छ। २०७६ सालमा पटकपटक गरेर निरज र इन्द्र राईलाई पैसा बुझाएको यसअघि नै पक्राउ परेकाहरुले प्रहरीलाई बयान दिएका छन्। यद्यपि, प्रहरीसँग बयानमा अहिलेसम्म राईले यसबारे मुख खोलेका छैनन्। बाबु इन्द्रजित हिरासतमा हुँदा छोरा निरज चाहिँ फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको छ।

राई बाबुछोराको जस्तै हालतमा छन् सन्दीप र टोपबहादुर रायमाझी पनि। यसै घटनामा मुछिएका बाबुछोरा मध्ये यतिखेर बाबु फरार छन् भने छोरा हिरासतमा। बाबु टोपबहादुर रायमाझीको राजनीतिक प्रोफाइल बलियो छ। एमालेका सचिव एवम् पूर्व मन्त्री हुन् उनी। यस प्रकरणमा उनका छोरा सन्दीपविरुद्ध बुधवार नै जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गर्‍यो। बाबु छोरा दुवैलाई जारी भएको थियो पक्राउ पूर्जी। त्यसको केही समयमा नै छोरा सन्दीप समातिए। साँझ बुटवलबाट समातेर उनलाई बिहीवार काठमाडौंमा ल्याइएको छ। बिहीवार नै जिल्ला अदालतमा उपस्थित गराएर तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ प्रहरीले।

सन्दीप तीन दिनदेखि प्रहरी हिरासतमा रहेका छन्। उनीमाथि ठगी प्रकरणमा संलग्न भएका प्रमाण प्रहरीले हात पारेको छ। तर, सोही दिन पक्राउ पुर्जी जारी भएका उनका  बुबा टोपबहादुर भने काठमाडौं आउछु भन्दै फरार भए। बुधवार अर्घाखाँचीको एक कार्यक्रम रहेका रायमाझीले काठमाडौं आएर प्रहरीको अनुसन्धान सहयोग गर्ने बताएका थिए। तर, एकाएक उनी प्रहरीको निगरानीबाट बेपत्ता भए। बुधवार साँझ उनी अर्घाखाँचीबाट काठमाडौं आउने भन्दै भैरहवा पुगे। तर, बिचबाटै उनी फरार भए। छोरा समातिएको खबर उनले थाहा पाइसकेका थिए। त्यसपछि उनको मोबाइल स्विच अफ भयो।

छोरालाई हिरासतमा लिइसक्दा बाबु रायमाझी भने प्रहरीबाट बच्ने जुक्ति खोज्न थालिसकेका थिए। पक्राउ पुर्जी जारी भएपछि टोपबहादुरले नेपाल प्रहरीका महानिरीक्षक र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत फोन गर्न भ्याएका थिए। अध्यक्ष ओलीले पनि बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रायमाझी प्रकरणबारे चासो देखाएका थिए। त्यति मात्र होइन उनले प्रहरीको अनुसन्धान माथि शङ्का पनि व्यक्ति गरिसकेका छन्। सांसद जस्तो व्यक्तिले सामान्य मानिस झैँ बाटोघाटोबाट पक्राउ गर्न नहुने अभिव्यक्ति ओलीले मिडियामा नै दिए। त्यसको प्रभाव यस प्रकरणमा प्रहरी प्रशासन केही हच्किएको देखिन्छ।

'भरसक उहाँ आफैँ हाजिर हुनुभयो भने राम्रो भन्ने हो। हामीले त्यसरी अन्य मानिस झैँ खोजेका पनि छैनौँ,' एक उच्च प्रहरी अधिकृतले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ। चैत १२ गते  ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो। त्यसपछि ठगीका अन्य पोलहरू पनि खुल्दै गएका थिए।

रायमाझी बाबुछोराको नाममा पनि प्रहरीले प्रमाण सङ्कलन गरेको छ। छोराको नाममा ठगी गिरोहका मानिसले डेढ करोडको चेक काटेको भेटिएको छ। तर टोपबहादुरले त्यस चेकको आधार नभएको अभिव्यक्ति दिएका छन्। घटनामा लेनदेन देखि मेलोमेसो मिलाउनेसम्म बाबुछोरा मुछिएका छन्। अहिले बाबु फरार छोरा हिरासतमा छन्।

घटनामा अर्का बाबुछोराको नाम नसमेटिएको भने होइन। तर, त्यसलाई पुष्टि गर्ने आधार प्रहरीले फेला पारेको छैन। रामबहादुर थापा बादल र उनका छोरा प्रतीक थापा यसमा जोडिनसक्ने अर्को नाम हो। प्रतीकले घटनामा आफ्नो संलग्नता नभएको र प्रहरीको अनुसन्धानमा इमानदारीपूर्वक सहयोग गर्ने बताएका छन्। बिहीवार विज्ञप्ति जारी गर्दै उनले बाहिर आएका घटनाको खण्डन गरेका छन्। रामबहादुर थापा बादल गृहमन्त्री हुँदा नै ठगी गिरोह सक्रिय भएको देखिन्छ। उनका सल्लाहकार यसै घटनामा समातिएका छन्। त्यसले पनि पूर्व गृहमन्त्री बादलको यस घटनासँग जोडिने सम्भावना ज्यादा छ। तर अहिलेसम्म उनको विरुद्ध प्रहरीले प्रमाण भने भेटाइसकेको छैन। यद्यपि, थापाका बाबुछोरा पनि यस घटनामा चर्चा र आरोपबाट अछुतो भने छैनन्।

बुधवार नै प्रहरीले नेपाल सरकारका बहालवाला सचिव पक्राउ गरेको छ। पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको हो। ठगी गिरोहका सदस्यले पाण्डे गृह मन्त्रालयमा हुँदा मोटो रकम दिएर आफ्नो धन्दामा प्रयोग गरेको खुलेको छ। प्रहरीको अनुसन्धान जारी रहेको छ। अझै कति जना यसमा समातिने हुन् टुङ्गो छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell