PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

शीर्षस्थानमा दाबेदारी बलियो बनाउँदै सिटी, लिभरपुलको कठिन जित



पहिलोपोस्ट

शीर्षस्थानमा दाबेदारी बलियो बनाउँदै सिटी, लिभरपुलको कठिन जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले लिड्समाथि २-१ गोलअन्तरले जित निकालेको हो।

सिटीको जितमा इल्के गुण्डोगनले दुबै गोल गरेका थिए। खेलको १९ औँ मिनेटमा रियाद महरेजको पासमा गोल गरेका गुण्डोगनले दोस्रो गोल पनि महरेजकै पासमा २७ औँ मिनेटमा गरेका थिए।

पहिलो हाफमा दुई गोलले पछि परेको लिड्सका लागि सान्त्वना गोल ८५ औँ मिनेटमा रोड्रिगोले गरेका थिए। त्यसको एक मिनेट अघि पेनाल्टीको अवसरमा गुण्डोगन चुक्दा ह्याट्रिकको अवसर खेर गएको थियो।

त्यस्तै गएराति नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १-० गोलअन्तरले हरायो। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन मोहम्मद सलाहले १३ औँ मिनेटमा भान डाइकको पासमा गोल गरेका थिए।

गएराति नै सम्पन्न अन्यखेलमा चेल्सीले बर्नेमाउथलाई ३-१ गोलअन्तरले हराउँदा टोटेनहमले क्रिस्टल प्यालेसलाई र वुल्भ्सले एस्टोन भिल्लालाई समान १-० गोलअन्तरले हराएका छन्।

योसँगै ३४ खेलबाट ८२ अंक जोडेर म्यानचेस्टर सिटी तालिकाको शीर्षस्थानमा छ भने दोस्रो स्थानको आर्सनलको ७८ अंक छ। त्यस्तै ६५ अंक जोडेर न्युक्यासल तेस्रो स्थानमा रहँदा ६३ अंक जोडेको म्यानचेस्टर युनाइटेड चौथो तथा ६२ अंक जोडेको लिभरपुल पाँचौँ स्थानमा छन्। छैटौँ स्थानमा ५७ अंक जोडेको टोटेनहम हट्स्पर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell