काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवनका व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिनका लागि आफूले पहल थालेको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति लामिछानेले आफू निरन्तर खबरदारीमासमेत लागेको जनाएका छन्।
आफू पीडितको पक्षमा रहेको लामिछानेको भनाई छ। 'चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु,' उनले भनेका छन्, 'अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु।' कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य कँडेलले वैशाख १९ गते साँझ आत्महत्या गरेका थिए।
प्रहरी प्रशासनलाई अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर आफूले घच्घचाइरहेकोसमेत लामिछानेले बताएका छन्। 'प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु। आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु,' उनले भनेका छन्, 'म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरीरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु।'
मृतक ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका– ८ निवासी हुन्। उत्कृष्ट पोल्ट्री व्यवसायीमध्येमा पर्ने उनलाई न्यायको लागि भन्दै चितवनका विभिन्न स्थानमा प्रदर्शन हुँदै आउको छ।