PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

काठमाडौंमा सात तले घर, लाखौंको व्यापार : दोहोरो नागरिकता भेटिँदा हिरासतको बास



पहिलोपोस्ट

काठमाडौंमा सात तले घर, लाखौंको व्यापार : दोहोरो नागरिकता भेटिँदा हिरासतको बास

काठमाडौं : शंखमुलमा सात तले घर छ भरतप्रसाद गुप्ताको। पाँच वर्ष अगाडि करौडौं रुपैयाँ लगाएर घर किनेका हुन् गुप्ताले। आफ्नै घरमा  'विकानील' नामको मिठाई पसल सञ्चालन गर्दै आएका छन्। त्यस्तै घर बैंकदेखि अन्य प्रयोजनको लागि भाडामा पनि दिएका छन्। श्रीमती र एक सन्तानसहित उनी यहाँ बस्न थालेको लामो समय भइसकेको छ।

तर भरतको परिवार केही दिनदेखि प्रहरी हिरासतमा छन्। कारण - दोहोरो नागरिकता। भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पंचायत भिमपुरा थाना बेल्थरा ठेगना भएका व्यक्तिको नागरिकता छ भरतसँग। उनको साथमा नेपाली नागरिकता पनि भेटिएको छ। उनले २०६३ चैत १७ गते जन्मको आधारमा १५३०९०/१०४ नम्बरको नेपाली नागरिकता लिएको देखिन्छ। यही नागरिकताको प्रकृियाको आधारमा उनका छोराले पासपोर्ट पनि बनाएका छन्।

दुई देशको नागरिकता भेटिएपछि उनको परिवारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। भारतीय नागरिक रहे पनि नक्कली कागजपत्र बनाएर नेपालको नागरिकता लिएको खुलेको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।

'उनीहरूले विभिन्न जिल्लाबाट नागरिकता लिएको देखिएको छ। सँगै भारतको नागरिकता पनि पाएका छौँ,' एसएसपी केसीले भने।

५० वर्षीय ज्ञानमति गुप्ता भरतकी श्रीमती हुन्। उनले पनि यस्तै गरी नेपाली नागरिकता लिएकी छिन्। २०६८ असार ९ गते १५१०९०/७३० नम्बरको वैवाहिक अंगिकृत नेपाली नागरिकता लिएको देखिएको छ। सिरहा मिर्चौया नगरपालिका ठेगाना राखेर उनको नागरिकता जारी भएको छ। उनको ३० वर्षीय छोराको पनि सिराहबाट नै नागरिकता लिएका थिए। उनीहरू तीनै जनाको भारतीय नागरिकको कार्ड फेला परेको छ। २०७० वैशाख २९ गते वंशजको आधारमा १५३०९०/३४ नम्बरको नेपाली नागरिकता लिएका थिए।

त्यतिमात्र होइन उनीहरूले भारतमा हुने निर्वाचनमासमेत मतदान गरेको प्रहरी अनुसन्धानमा खुल्छ।

'हामीले भारतको भोटिङ लिस्टमा पनि उनीहरूको नाम भेटेका छौं। उनीहरू दुवै तिरका नागरिक देखिन्छन्,' एसएसपी केसीले भने।

प्रहरीले यस घटनामा १० जनालाई पक्राउ गरेको छ। उनीहरूको भारत र नेपाल दुवै देशको नागरिकता भेटिएको छ। प्रहरीले दुई देशको नागरिकता भेटिएपछि अनुसन्धान थालेको हो। बारा, रुपन्देही, सिरहा लगायतका जिल्लाबाट विभिन्न मितिमा नागरिकता लिएको देखिएको छ।

भारतीय नागरिक भरत गुप्ताले २०६३ फागुन ७ मा जिल्ला प्रशासन कार्यालय बाराबाट नागरिकता लिएका छन्। त्यस्तै गरी स्नेह लता गुप्ता, राजेश कुमार गुप्ता, मिना देवी गुप्ताले बाराबाट, गोपाल गुप्ताले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट, राम प्रवेश गुप्ताले रुपन्देही र राम सुन्दर गुप्ताले पर्सा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको खुलेको छ। सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक भएको  प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामध्ये केहीको साथबाट नेपाली भोटिङ कार्ड पनि फेला परेको छ। उनीहरूले नेपालमा पनि तीनै तहका निर्वाचनमा भाग लिएको हुनसक्ने देखिएको छ।

'भोटिङ कार्ड भेटिएपछि पक्कै पनि निर्वाचनमा सहभागी भए वा किन लिए त भन्ने प्रश्न आउँछ। हामी यसमा अनुसन्धान गरिरहेका छौँ,' एसएसपी केसीले भने।

काठमाडौंको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरुमाथि नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। नागरिकता दिने प्रकरणमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीको संलग्नता भएन नभएको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गर्ने भएको छ।

'हामीले यो एउटा प्याट्रन हेरेका हौं। थप अझै खुल्छ,' एसएसपी केसीले भने।

पक्राउ परेका नातागोता भित्रका छन्। उनीहरू भारतमा एउटै गाउँका भएको पनि खुलेको छ। उनीहरुले काठमाडौंमा घर जग्गा किन्नेदेखि व्यापार व्यवसायमासमेत लगानी गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell