PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

एपीएफमाथि मछिन्द्रको पुनरागमन जित, बराबरीमा रोकिए संकटा र आर्मी

एपीएफमाथि मछिन्द्रको पुनरागमन जित, बराबरीमा रोकिए संकटा र आर्मी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न खेलमा मछिन्द्र क्लबले एपीएफ फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता मछिन्द्रले एपीएफलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको ३७ औँ मिनेटमा एपीएफले खेलमा अग्रता बनाएको थियो। एपीएफका लागि बिके तामाङको प्रहार गोलकिपर विशाल श्रेष्ठले बचाउने क्रममा अर्माण्ड बिएडोमले गोल गरेका थिए।

तर, पहिलो हाफको इन्ज्युरी समयमा मछिन्द्र खेलमा फर्कियो। ओमोलाजा नुरेन करीमले पेनाल्टी क्षेत्र बाहिर पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै गोल गरे। आन्द्रेस नियालाई एपीएफका सरन विक्रम सिंह बस्नेतले फउल गरेपछी मछिन्द्रले फ्रिकिकको अवसर पाएको थियो।

मछिन्द्रको जितमा दोस्रो तथा निर्णायक गोल ओलावाले अफिजले गरे। उनले इन्ज्युरी समयमा बक्स बाहिरबाट गोल गर्दा मछिन्द्रले ३ अंक सुरक्षित गर्‍यो।

एपीएफ प्रशिक्षक रत्नकाजी महर्जनले तीन अंकका लागि आएका बताउँदै अवसर सदुपयोग गर्न नसक्दा पराजय ब्यहोर्नु परेको बताए।

'रणनीतिअनुसार खेलेको पनि हो। टेक्निकल इरोर हुँदा हामीले अंक गुमाउन पुग्यौँ। पछिल्लो म्याचमा राम्रो म्याच खेलिरहेको छ,' उनले भने, 'मिडफिल्ड जोनलाई ब्याक गरेर बल होल्ड गरेर खेल्ने रणनीति थियो। तर, हामीले पाएको अवसरमा गोल गर्न सकेन। वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पराजय ब्यहोर्न पुग्यो।'

उनले भने: गोल खाए पछि पनि खेलमा फर्कने अवसर थियो। मछिन्द्रले भन्दा धेरै अवसर हामीले धेरै बनाएका थियौँ। त्यही भएर हार्‍यौँ।

अर्कोतर्फ मछिन्द्रका प्रशिक्षक किशोर कुमार केसीले इन्ज्युरी गाह्रो भएको बताए।

'विमलको एन्कल सम्बन्धी चोट। सुरजकव टाउको सम्बन्धि चोट हो। विमलको अरु म्याचको सम्भावना कम छ,' उनले भने, 'देवेन्द्र पनि इन्ज्युर पनि छ। रेस्ट नै दिएको हो। चर्च ब्वाइजसँग गेम छ। त्यही भएर गाह्रो भएको हो।'

अर्कोतर्फ एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १-१ गोलको बराबरी खेले। खेलको १८ औँ मिनेटमा भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो। खेल अवधिभर एक गोलले पछि रहेको संकटालाई इन्ज्युरी समयको अन्तिम मिनेटमा युसुफ एट्रिसले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

जितसँगै मछिन्द्र पहिलो पटक शीर्ष स्थानको होडमा टप चारमा पुगेको छ। शीर्ष स्थानको चर्च ब्वाइजको २७ अंक छ भने त्यसपछिका जावलाखेल युथ क्लब, थ्री स्टार फुटबल क्लब र मछिन्द्र क्लबको समान २४ अंक छ।



ट्रेन्डिङ पोस्ट

Ncell