PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'पम्फादेवी' भनेका अमरेशलाई आरजुले संसदमा लगाइन् 'मिसोजिनी'को आरोप : होच्याउन पायो भन्दैमा जे पनि नबोल्नु



प्रकाश भण्डारी

'पम्फादेवी' भनेका अमरेशलाई आरजुले संसदमा लगाइन् 'मिसोजिनी'को आरोप : होच्याउन पायो भन्दैमा जे पनि नबोल्नु

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा पुष्टि गर्न चुनौति दिएकी छिन्। संसदमा सम्बोधन गर्दै नेतृ राणाले आफ्नो नाम जोडेर अनेकथरी आरोप लागेको उल्लेख गर्दै 'मिसोजिनी' नगर्न आग्रह गरिन्।

'मेरो नाम जोडेर अनेकथरी प्रश्न उठेका छन्। आज पनि उठेको मैले पाएको छु। एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ,' डा देउवाले भनिन्, 'एउटा टर्म छ मिसोजिनी। पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने। उनीहरुले भनेको मात्र भाष्य हामीले बोल्नुपर्ने। उनीहरुले भनेकोमात्र हामीले एक्सरसाइज गर्नुपर्ने। आफ्नो पब्लिक लाइफमा आयो भने असह्य नहुने।'

यस्तो परिस्थिति संसारभर रहेको र यसैविरुद्ध लडेर महिलाहरुले नयाँ संविधान लेखेकोसमेत आरजुको दाबी रह्यो। 'यस्तो परिस्थिति यहाँ बनेको छ। नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रुपमा छ। यसकै विरोधमा हो हामीले संविधान लेखेको,' उनले भनिन्, 'यसको लागि जसले जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको छैन म डराउदिनँ।'

वैशाख १५ को संसदमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आरजुको नायबीमाथि प्रश्न गरेका थिए। अमरेशले आरजुलाई ‘पम्फादेवी’ नामसमेत करार गरिदिएका थिए। २०६३ सालयता आरजुको भ्रष्टाचारमा रजाइँ चल्न थालेको आरोप अमरेशको थियो। ‘०६३ यता जो पम्फादेवी जन्मिएको छ। त्यो फम्फादेवीको कारबाहीका लागि अस्ति पनि गृहमन्त्रीलाई भनेको छु, कि पम्फादेवीको सम्पत्ति छानविन होस्। पम्फादेवीको कारोबार छानविन होस्,’ सिंहले प्रश्न गरेका थिए ‘र, यो धितोपत्र बोर्डको अर्को लाइसेन्स प्राइभेटलाई दिन खोजिरहेको छ, के दूरसञ्चार प्राधिकरण प्राइभेटलाई दिन मिल्छ? सर्वोच्च अदालत प्राइभेटलाई दिन मिल्छ? नेपाल सरकार प्रइभेटलाई दिन मिल्छ? त्यसो भए प्रधानमन्त्रीसँग अनुरोध छ, उहाँको जिम्मेबारी नै प्राइभेटलाई दिउँ।’ धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती हुने तयारी चलेको बेलो अमरेशको यो भनाई आएको हो। बोर्डको अध्यक्ष नियुक्तीमा आरजु हाबी हुने आशंका गरिएको खबरहरु बाहिरिएसँगै अमरेशले प्रश्न गरेका थिए।

राजा वीरेन्द्रको शासनमा रानी ऐश्वर्यदेवीलाई भ्रष्टाचारको आरोप लाग्थ्यो। स्विस बैंकमा ऐश्वर्यले पैसा जम्मा गरेको आरोप लाग्थ्यो। त्यतिबेला समाचार लेख्दा रानीको नाम राख्न नसक्ने भएकोले पम्फादेवीको नाममा उनको विरोध हुन्थ्यो। पछि पम्फादेवीकै नाममा उनको विरोधमा समाचारहरु प्रकाशन हुन्थ्यो। यही शैलीमा आरजु भ्रष्टाचारमा उत्रिएको अमरेशको आरोप थियो।

आरजुले भने होच्याउन पायो भने जे पनि बोल्ने भन्दै तथ्यमा रहेर धारणा राख्न चुनौति दिइन्। उनले हरेकको सम्पत्ति विवरण संसदको वेबसाइटमा सार्वजनिक गर्नसमेत माग गरिन्। 'मेरो श्रीमान(शेरबहादुर देउवा) पाँच छ चोटी प्रधानमन्त्री भइसक्नुभएको छ। हाम्रो सम्पत्ति विवरण मेरो लगायत यो नेपाल सरकारसँग सुरक्षित छ। म एउटा अनुरोध गर्छु सबै सांसदको सम्पत्ति विवरण प्रकाशित गरौ हाम्रो संसदको वेबसाइटमा,' आरजुले भनिन्, 'जनताले सबै देखोस् कहिले के थियो। कसको बढ्यो। कसको घट्यो के स्रोत हो? सबैको होस्। हामी साच्चिकै गर्ने हो भने इन्डियामा जुडिसियल कर्मचारीले आफ्नो सबै हिसाब आफै डिक्लियर गर्नुपर्छ। हरेक महिनाको बिल बुझाउनुपर्छ। हामी यो यहाँ ल्याउन सक्छौ। कुरा चै ठुलठुला गर्ने। भाषण होच्याउन पायो भनेर जे पनि बोल्ने? तथ्यमा आधारित भएर बोलौ।'

मंगलवारमात्र अमरेशको अभिव्यक्ति सामाजिक सञ्जालदेखि मिडियामा छाएपछि आरजु आक्रोशित बनेकी थिइन्। त्यतिबेला आरजुले आफूमाथि कपोलकल्पित आरोप लगाएको दाबी गर्दै विज्ञप्ति जारी गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell