PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कहाँ गायव भए सांसद टोपबहादुर? न त अदालतमा हाजिर न त सम्पर्कमै



पहिलोपोस्ट

कहाँ गायव भए सांसद टोपबहादुर? न त अदालतमा हाजिर न त सम्पर्कमै

काठमाडौं : आइतवार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइयो। सभामुख देवराज घिमिरेले कोइरी निलम्बनको सूचना सुनाएका थिए। एक साताअघि मात्र संसद् सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको थियो।

२०७२ भदौमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरी फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए। कोइरी भारत पुगेको प्रहरीको आशंका रहेको छ। आइतवार प्रतिनिधिसभामा अर्का सांसदको पनि चर्चा रह्यो - टोपबहादुर रायमाझी। उनी पनि कोइरी झैं फरार छन्।

एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री समेत भएका व्यक्ति पाँच दिनदेखि सम्पर्कविहीन छन्। रोचक त के भने सम्पर्कविहीन हुनुअघि सभामुख घिमिरे र उनी एकै कार्यक्रममा थिए।

बुधवार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सांसद रायमाझीलाई पक्राउ गर्न अनुमति पाएको थियो। अनुमति पाउँदा रायमाझी भने अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै सार्वजनिक कार्यक्रममा थिए। प्रहरीको सूचनाको पहुँचमा नै रहेका रायमाझीलाई पक्राउ गर्ने मनस्थितिमा प्रहरी थिएन।

बुधवार उनी अर्घाखाँचीबाट भैरहवा हुँदै काठमाडौं आउने सूचना भने काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले पाएको थियो। सांसद त्यसमा पनि पूर्व उपप्रधानमन्त्री 'भेट्यो कि छोप्यो' भन्ने एक्सनमा थिएन प्रहरी।

त्यसो त पक्राउ पुर्जीपछि पत्रकारसँगको कुराकानीमा पनि अनुसन्धानमा काठमाडौं आएपछि सहयोग गर्ने बताउँदै आएका थिए रायमाझीले। तर, जब राति काठमाडौं आउने जहाजको टिकट रद्द गरे त्यसपछि प्रहरी पनि झस्किएको थियो।

सांसद रायमाझी भैरहवाबाट एकाएक गायव भए। उनको मोबाइल पनि अफ भयो। ब‍ाबुछोरा दुवैलाई पक्राउ गर्ने अनुमति पाएको प्रहरीले छोरा सन्दीपलाई भने बुधवार साँझ नै बुटवलबाट समातिसकेको थियो।

छोरो पक्राउ परेको जानकारी उनले पनि पाइसकेका थिए। त्यसपछि भने उनी आफैँ फरार रहे।

‘बुधवार ९ बजेपछि भने हाम्रो सम्पर्कमा रहेनन्। उनको मोबाइल लोकेसन भैरहवाबाट नै ट्र्याक भएन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

उनका गाडी चालक भने बिहीवार नै काठमाडौं फर्किएका थिए। त्यस्तै, उनको सुरक्षाका लागि खटिएका प्रहरीलाई त उनले काठमाडौं नै छोडेर गएका थिए। त्यसपछि प्रहरीको सम्पर्क सुत्र टुटेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई सामान्य मानिस झैं बाटोघाटोमा नसमात्न दबाब पनि दिएका थिए। त्यसपछि भने प्रहरी केही हच्किएको थियो उनलाई पक्राउ गर्ने विषयमा।

रायमाझी आफैँ उपस्थित होलान् भन्ने अपेक्षा थियो सबैको। आइतवार उनी अदालतमा हाजिर होलान् भन्दै कुरेर बस्यो प्रहरी। तर, उनी आइतवार अदालतमा हाजिर भएनन्। पाँच दिनदेखि सम्पर्कविहीन छन् उनी। आखिर सांसद रायमाझी कहाँ गए? धेरैको प्रश्न छ।

नेपालमा कुनै पनि घटना गएपछि प्रहरी प्रशासनबाट लुक्ने सबैभन्दा सजिलो ठाउँ भारत नै हो। खुल्ला सीमानाको कारण सीमापारी जान कठिन छैन।

त्यसो त सांसद रायमाझी भैरहवाबाट सम्पर्क बिहीन भएका थिए। भैरहवाबाट सीमा नाका पुग्न केही किलोमिटरको दुरीमात्रै हो। प्रहरी प्रशासनको अनुमान उनी भारत छिरेको भन्ने पनि छ।

त्यसो त उनी काठमाडौं वा देशभित्र कतै लुकेर बसेको र आफ्नो अनुकूलको समयमा हाजिर हुने आशंका उत्तिकै छ। त्यसैले प्रहरीले सूचना संकलन पनि गरिरहेको छ, उनी कतै देखिन्छन् कि भनेर।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा सांसद रायमाझी मुछिएका हुन्। उनका छोरा पनि पाँच दिनदेखि हिरासतमा छन्।

त्यस्तै, सरकारका बहालवाला सचिवदेखि अन्य ८ जना पक्राउ परिसकेका छन्। अदालतबाट थप म्याद गरेर उनीहरु माथि अनुसन्धान जारी छ।

प्रहरीले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत् फाइल बुझाउने तयारी गरिरहेको छ। यसखाले केसमा अनुसन्धान गर्ने प्रहरीले ६० दिनको समय पाउँछ।

यसै प्रकरणमा २०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गर्‍यो। सार्वजनिक हुनेमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए। त्यसैले अझै प्रहरीसँग १० दिन भन्दा बढी समय छ अनुसन्धानका लागि।

अदालतमा मुद्दा बुझाएपछि अदालतमा हाजिर भए सांसद रायमाझीले प्रहरी हिरासतमा बस्नुपर्ने समय केही घट्ने आँकलनले पनि उनी चाँडै प्रहरीको सम्पर्कमा नआएको हुनसक्ने देखिन्छ। तर, जीवनभर उनी लुकेर वा भागेर बच्न भने कठिन छ। भाग्नु वा लुक्नु भनेको एक हिसाबले लागेको आरोप स्वीकार गर्नु पनि हो।

त्यसैले आफूमाथि लागेको आरोप उनी अदालत वा प्रहरी समझ उपस्थित भएर नै खण्डन गर्नु राम्रो विकल्प हो। तर फेरि पनि प्रश्न उठेको छ- त्यसका लागि किन तयार छैनन् उनी?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell