PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चलचित्र र क्यानभासबिच के छ सम्बन्ध? यस्तो छ कलाकारहरुको धारणा



पहिलोपोस्ट

चलचित्र र क्यानभासबिच के छ सम्बन्ध? यस्तो छ कलाकारहरुको धारणा

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतवार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फिल्म र कलाक्षेत्रका व्यक्तिहरुले चलचित्र र क्यानभासबिच गहिरो सम्बन्ध रहेको प्रष्ट पारे।

कलाकार नीर शाहले क्यानभास आफैमा अनेकथरी अर्थ बोकेको बस्तु भएको बताए।

उनले भने, ‘क्यानभासको प्रारम्भिक स्वरुप सेतो हुन्छ। त्यहाँ जसले जे गर्दा पनि हुन्छ। जुन पेन्टिङलाई तपाईहरु अमूर्त भन्नुहुन्छ त्यसको पराकाष्टा नै क्यानभास हो। क्यानभासमा रंग हुँदैन। तर रंगविहीन हुनु पनि एउटा रंग हो। प्रत्येक रंगको एक किसिमको प्रतिकात्मक बुझाइ हुन्छ। त्यसैले रंगलाई कोरा रंगकै रुपमा भने बुझ्नुहुन्न।’

रंगसँग सिनेमाको यथार्थपरक, निकट र प्रभावकारी सम्बन्ध रहेको शाहको भनाइ छ।

‘सिनेमा र रंगबिच प्रगाढ सम्बन्ध हुन्छ। प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले अथवा बोल्न थाले भने त्यो चलचित्र बन्छ। त्यस्तै प्रत्येक चलचित्रको दृश्यलाई स्थिर राखेर हेर्नुभयो भने त्यो एउटा चित्र बन्छ। त्यसैले कहाँनिर सिनेमाले चित्रकला बोकेन र चित्रकलाले सिनेमा बोकेन। त्यसरी हेर्दा बन्न नसक्ने सिनेमाहरु कमसल खालका सिनेमाहरु भए। त्यसरी हेर्दा बन्न सक्नेहरु असल सिनेमा बने,’ उनले भने।

शाहले अघि थप्दै भने, ‘ललितकलाको प्राज्ञिक महत्त्वहरुलाई र अभिव्यक्तिका माध्यमहरुलाई सिनेमाले आफ्नो अभिव्यक्तिसँग जोड्न सकेमा सिनेमाको भविस्य साहित्यजस्तै चुचुरोमा पुग्ने निश्चित छ।’

त्यसैगरी, छायाँकार दीपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताएँ।

उनले भने, ‘कलर हार्मोनीमा हामीले काम गर्न सकेका छैनौं। कलर हार्मोनीको बारेमा बुझ्न कलर सिद्धान्तको बारेमा जान्नुपर्ने हुन्छ। कलर, कलर टेम्प्रेचर के हो भनेर चलचित्र मेकरहरुले बुझ्नुपर्छ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले चलचित्र पनि ललितकलाको विधामा पर्ने सुनाइन्। प्रतिष्ठानले राम्रो विषयको उठान गरेको भन्दै उनले आगामी दिनमा पनि यस्ता विषयमा छलफल गर्न जरुरी प्रतिक्रिया दिइन्।

त्यसैगरी, चित्रकार अशोकमान सिंहले रंग आफैमा संवेदनशील हुने बताए। हरेक रंगले जीवनमा प्रभाव पारिरहेको बताउँदै उनले चलचित्रमा प्रयोग गर्ने रंग र कलामा प्रयोग गर्ने रंग फरक हुने धारणा व्यक्त गरे।

कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै चलचित्र भएको धारणा राखे।

‘क्यानभास र सिनेमाको समीश्रणले नै मुलुकको वैभवता, सभ्यता र संस्कृति देखाउँछ। बिना क्यानभासको भित्ताहरुले चलचित्र बन्नै सक्दैन। क्यानभासमा कोरिएका आकृतिहरुले पनि फिल्ममा ठूलो अर्थ राख्छ। सिनेमा कुन मुलुकको हो र कुन समयको हो त्यो क्यानभासले नै बोलिदिन्छ। जहाँ संवाद नै जरुरी हुँदैन। क्यानभासै क्यानभास मिलेर नै सिनेमा बन्छ,’ श्रेष्ठले भने।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्रलाई अलिकति फराकिलो दायरामा लैजाने उद्देश्यले गरिएको बताएँ। त्यसैगरि, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पावर प्वाइन्ट प्रिजेन्टेसन मार्फत ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell