
काठमाडौं : २०६६ सालतिरको कुरा हो। कक्षा ९ मा पढ्दै गरेकी बिनिता थापामगरले ‘इनसाइड द ब्रेन’ नामक नाटकको लागि अडिसन दिइन्। अनि नाटकमा मुख्य भूमिकामै छनोट भइन् पनि।
नाटकको वर्कसपमा रंगकर्मी सुमन रायमाझीले भनेका थिए, ‘कलाकार भएपछि सबै बन्न पाइन्छ। डाक्टर, पाइलट, शिक्षक जे पनि बन्न मिल्छ।’
त्यही कुराले उनलाई छोयो। अनि अभिनयलाई आफ्नो करियर बनाउन उनी कटिबद्ध भएर लागिन्।
त्यसअघि विद्यालयमा पढ्दै गर्दा त उनका अनेक रहरहरु थिए। उनलाई कहिले डक्टर बनुँ झै लाग्यो त कहिले हिरोइन। शिक्षक, एयरहोस्टेज अनि पाइलट बन्ने चाहना समेत नभएको होइन।
तर जीवनमा ठ्याक्कै के बन्ने? भनेर प्रष्ट नभएकी उनलाई रायमाझीको कुराले भविष्य निर्धारण गर्न सजिलो पारिदियो। गुरुकुलमा मञ्चन भएको उक्त नाटकबाट पाएको प्रतिक्रियाले पनि बिनितालाई यो क्षेत्रमा डटेर लाग्न हौस्यायो।
रंगमञ्चबाट सुरु भएको बिनिताको अभिनय यात्रा अहिले फिल्म ‘हल्कारा’सम्म आइपुगेको छ। ‘हल्कारा’मा बिनिता विदेशिएका श्रीमानको पर्खाइमा परिवारको जिम्मेवारी काँध हालेकी मियाको भूमिकामा छिन्।
बिनिताको नाटकदेखि ‘हल्कारा’सम्मको यात्रा त्यति सहज भने भएन। उनलाई फिल्ममा डेब्यू गर्न नै १४ वर्ष लाग्यो।
‘लामो संघर्षपछि हल्कारामार्फत दर्शकसामु देखिँदैछु। आफूले अभिनय गरेको फिल्म हलमा आउन लाग्दा निकै खुसी र उत्साहित छु,’ बिनिताले सुनाइन्।
अवसर, चुनौती र निरन्तरता
पोखरामा जन्मेकी बिनिता काठमाडौंमा हुर्किइन् र, यहीँ नै पढिन्। कक्षा ९ मा पढ्दाखेरी नै उनले नाटकमार्फत अभिनय क्षेत्रमा पाइला टेकिसकेकी थिइन्।
एसएलसी पास गरेसँगै बिनिताले सर्वनाम थिएटरमा अशेष मल्लसँग अभिनय सिकिन्। उनी सर्वनाम थिएटरको पहिलो ब्याच पनि हुन्।
वर्कसप सकिएसँगै उनले २०६८ सालतिर फिल्म ‘शून्य’को लागि अडिसन दिइन्। त्यतिखेर फिल्ममा देखिनु नै ठूलो कुरा थियो। ५ मिनेटको भूमिकामा देखिन पाउँदा निकै खुसी भइन् उनी। तर सुटिङ भए पनि फिल्म रिलिज नै हुन सकेन।
बिनितालाई पहिलो गाँसमै ढुङ्गा लागेझैँ भयो, ‘डेब्यू फिल्म नै हलमा रिलिज नहुँदा निकै नराम्रो लाग्यो। आफूले गरेको काम सबैले देखेको भए हुन्थ्यो भन्ने लागेको थियो। तर काम न हो राम्रो गरेपछि आइहाल्छ भनेर चित्त बुझाएँ।’
त्यसपछि अनुप बरालको ‘ओहो! स्टार दुनियाँ’ नामक नाटकमा देखिइन् बिनिता। लगत्तै उनी विदेशी निर्देशक माइकल रोथको फिल्म ‘शाम्भाला’मा पनि मुख्य भूमिकाको लागि छनोट भइन्। जुन फिल्ममा आर्यन सिग्देल र वुद्धि तामाङको पनि अभिनय थियो।
बिनिताले आशान्त शर्मा निर्देशित ‘कथा एक्सप्रेस’, ‘ब्रिफ क्यान्डल’, ‘दाँतको डोब’, ‘मृग तृष्ण’, ‘देउराली डाँडी’, ‘रात १३’ जस्ता थुप्रै नाटकमा अभिनय गरिसकेकी छिन्।
विसं २०७३ सालमा फिल्म ‘शिरफूल’मा अनुबन्धित भएसँगै हलमा डेब्यू गर्ने सपना पूरा हुन्छ भने बिनितालाई लागेको थियो। छायाङ्कन सकिएपछि फिल्मको रिलिज डेट समेत तोकियो। तर अन्त्यमा हलमा फिल्म रिलिज नै हुन सकेन।
अनि सुरु भयो ‘हल्कारा’को यात्रा
केही लामा र छोटा फिल्ममा काम गरे पनि बिनिताको हलमा देखिने धोको पूरा हुन सकेको थिएन।
सन् २०१८ तिर बिनितालाई कलाकार उमेश तामाङले फोन गरेर भने, ‘बिनिता एउटा फिल्म आउँदैछ। भिडियो अडिसन खुलेको रहेछ। सानो स्क्रिप्ट पठाइदिन्छु, त्यहीअनुसार भिडियो पठाउ है।’
बिनिताले स्क्रिप्टअनुसार भिडियो बनाएर पठाइन्। भिडियो अडिसनमा छनोट भएसँगै उनलाई केमेस्ट्री अडिसनको लागि बोलाइयो।
महेश त्रिपाठीसँग उनको केमेस्ट्री हेरियो। अन्तिममा क्यामेरा एंगल अडिसन पास गरेसँगै बिनिता हल्कारामा देखिने पक्का भयो।
‘हल्काराको स्क्रिप्ट निकै मन पर्यो। जहिलेपनि एकैखाले फिल्म हेरिरहेको मलाई यो कथा नौलो छ भन्ने लाग्यो। केही फरक सन्देश दिने खालको थियो। मियाको चरित्र पनि गाउँघरको दिदीबहिनीजस्तै लाग्यो,’ बिनिताले सुनाइन्।
त्यसपछि सुरु भयो बिनिताको मिया बन्ने संघर्ष। मियामा फिट हुन बिनिता तीनमहिना वर्कअपमा गइन्। जहाँ पात्रको मनोदशादेखि हाउभाउ, बोल्ने शैली र पहिरनबारे बुझ्ने मौका पाइन्। महेश त्रिपाठीसँग काम गर्दा निकै सहज भएको सुनाउँछिन् बिनिता।
सुटिङ सकिएको चार वर्ष बित्दा पनि ‘हल्कारा’ रिलिज हुने छाँटकाँट देखिएन। जसले बिनितालाई निराश बनाएको थियो।
अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ उत्कृष्ट विदेशी भाषी फिल्म लगायतका विधामा अवार्ड जितिसकेको ‘हल्कारा’ अन्तत: बैशाख २९ गतेबाट नेपाली सिनेमा हलहरुमा रिलिज हुँदैछ।
रिलिज मिति नजिकिएसँगै निकै उत्साहित छिन् बिनिता, ‘हलमा पहिलोपटक फिल्म रिलिज हुँदैछ। निकै उत्साहित छु। यो फिल्म दर्शकले एकपटक हेर्नै पर्ने फिल्म हो। प्रायजसो नेपाली फिल्ममा तालमेल मिलेको हुँदैन। विदेशीको कपी गरिएको हुन्छ। नेपाली भनेपछि पूर्णतया नेपाली हुनुपर्यो नि। हल्कारा हरेक हिसाबले राम्रो बनेको छ। फिल्मको कथा, साउण्ड, सिनेमेटोग्राफीदेखि अभिनय पनि उत्कृष्ट छ।’
‘नेपोटिजम हाबी छ, टिक्न कठिन छ’
फिल्मक्षेत्रमा नेपोटिजम हाबी हुँदा हलसम्म पुग्न १४ वर्ष लागेको बिनिताको गुनासो छ, ‘फिल्म क्षेत्रमा एकदमै नेपोटिजम छ। कतिपय फिल्ममा अगाडि नै कलाकार फिक्स गरिएको हुँदो रहेछ। जसकारण उनीहरुका नजिकका मानिसहरुले मात्रै अवसर पाउने। औपचारिकताका लागि मात्रै खोलिएको अडिसनमा हामीजस्ता निरन्तरता दिने कलाकारलाई गाह्रो हुन्छ।’
पैसा कमाउँछु भनेर अभिनय क्षेत्रमा लाग्दा टिक्न कठिन हुने उनको बुझाइ छ।
बिनिता भन्छिन्, ‘पैसा कमाउँछु भनेर अभिनयमा आउनु हुन्छ भने नआउनुहोला नै भन्न चाहन्छु। किनकी यो क्षेत्रमा पैसा छैन। जति नै दु:ख भएपनि प्यासनलाई निरन्तरता दिन्छु भनेपछि मात्रै टिक्न सकिन्छ।’
उनले अगाडि भनिन्, ‘मैले धेरैपटक फ्रिमा काम गरेकी छु। धेरैले नयाँ रहेछौँ पीआरको लागि काम गर भन्नुहुन्थ्यो। केही फिल्मबाट अझै पनि पैसा पाएको छैन।’
‘हल्कारा’ टिमको व्यवहार भने निकै मन परेको सुनाउँछिन् उनी।
‘अडिसन दिन आउने सबैलाई हल्कारा टिमले यातायात भाडा भनेर ५०५ रुपैयाँ दिएको थियो। जुन अभ्यास निकै चित्त बुझेको थियो,’ उनले सम्झिइन्।
कलाकारिता क्षेत्रमै जीवन बिताउने धोको
अभिनयका साथै फिल्म मेकिङमा पनि चासो छ बिनितालाई। कोभिड-१९ को महामारीको लकडाउनको खाली समयमा ‘बुम अपरेटर’को काम पनि गरेकी थिइन् उनले।
‘एउटा कलाकारले सबै कुरा सिक्नपर्छ जस्तो लाग्छ। किनकी कसैले सहयोग नगर्दा पनि आफैँ पनि काम गर्न सकिन्छ। फिल्म बनाउने सोचमा भएकाले लकडाउनको समयमा साउण्डको बारेमा ज्ञान लिन्छु भनेर बुम अपरेटिङ गर्न गएँ,’ उनले अनुभव साटिन्।
फिल्मको छायाङ्कनको समयमा रेकर्ड गरिएको ध्वनीलाई सिंक साउन्ड भनिन्छ। पछिल्लो समय फिल्ममा सिंक साउन्ड लिने ट्रेन्ड बढ्दो छ। तर फिल्ममेकरले भने सिंक साउन्डलाई वास्ता नगर्ने बिनिताको आरोप छ।
‘द लेडी, बोक्सीको घर जस्तो फिल्ममा सिंक साउन्ड बुम अपरेटरको काम गरेँ। तर यहाँ सिंक साउण्डलाई कसैले मतलब नगर्ने। बुम अपरेटरको काम गर्दा हरेक पटक बुझाउनुपर्दा दिक्क लाग्दो रहेछ,’ उनले भनिन्।
हल्कारा अर्थात हुलाकी जसले घरघरमा चिठ्ठी पुर्याउने काम गर्थे। त्यही हुलाकीको समयमाथि केन्द्रित छ ‘हल्कारा’को कथा।
बिनिताले वर्षौँको निराशा हल्कारामा बिसाएकी छिन्। हल्काराबाट पाएको चर्चासँगै उनको अभिनय प्यासन थप मौलाएको छ। व्यावसायिक रुपले ‘हल्कारा’ हिट होस् वा फ्लप, बिनितालाई भने कलाकारिता क्षेत्रमै जीवन बिताउने धोको छ।