काठमाडौं : काठमाडौं महानगरपालिकाले शहरका अव्यवस्थित तारहरु हटाउन सुरु गरेको छ। महानगरले सोमवारदेखि माइतीघर र न्युरोड क्षेत्रबाट केबल र इन्टरनेटका तारहरु काट्न सुरु गरेको हो।
यसअघि महानगरले अव्यवस्थित तारहरु हटाउन टीभी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई अल्टिमेटम दिएको थियो। नहटाए महानगर आफैँले तारहरु हटाउने चेतावनी समेत दिएको थियो। सरोकारवालाहरुसँगको छलफलबाट महानगरले आजबाट तार व्यवस्थापन सुरु गरेको हो।
विद्युत प्राधिकरण, दूरसञ्चार, टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, टीभी र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको रोहबरमा तार काटिएको हो। तार व्यवस्थापन गर्न महानगरका विभिन्न रुटहरु तय गरिएको छ।