बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित फुल्फुले सामुदायिक वनमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ। अन्दाजी २०/२५ वर्षीय पुरुषको शव भरलाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
शवको अवस्था हेर्दा केही दिन पहिला नै झुण्डिएर मृत्यु भएको हुनसक्ने उनले बताए। शव सडेगलेको अवस्थामा भएका कारण पहिचान हुन नसकेको उनले जनाए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेवारिसे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।