PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

अन्तरार्ष्ट्रिय तामाङ परिषद्को सम्मेलन बैंककमै किन? वरिष्ठ उपाध्यक्ष टासी लामालाई १७ प्रश्न



पहिलोपोस्ट

अन्तरार्ष्ट्रिय तामाङ परिषद्को सम्मेलन बैंककमै किन? वरिष्ठ उपाध्यक्ष टासी लामालाई १७ प्रश्न

अन्तर्राष्ट्रिय तामाङ परिषद्(आइटिसी) पाँचौं सम्मेलनको तयारीमा तीव्रस्तरमा जुटेको छ। 'जम्बुलिङ खोर्ला जोम्ना ङ्हा, तामाङ रिमठिम तेन्बा ङा,' मुल नाराका साथ सम्मेलन जुन ३ र ४ (जेठ २०/२१) मा थाइल्यान्डको बैंककमा हुँदैछ। सम्मेलनको तयारी र यसको औचित्यबारे परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामा तामाङसँग हामीले सोधेका छौं :

पाँचौ अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी के कस्तो छ?

पछिल्लोचरणमा विभिन्न देशको सदस्य संस्थाहरुको नवीकरण तथा नयाँ संस्थाहरुको आवेदन लिने र प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। विधान प्रतिवेदन, विश्वव्यापी कार्ययोजना र समसमायिक विषयसम्बन्धी मस्यौदापत्र तयार गर्ने काम सम्बन्धित समितिहरुले अन्तिम चरणमा पुर्‍याइसकेका छन्। अहिले सहभागी हुने प्रतिनिधिहरुको दर्ता चलिरहेको छ।

अहिले अध्यक्ष राष्ट्र भारत हो। सचिवालय काठमाडौंमा छ। अध्यक्ष केएम तितुङ यसैबारे बुझ्न शनिबारमात्र सिक्किमबाट सचिवालय आइपुग्नुभएको थियो।

कार्यक्रमको कार्यतालिका कस्तो छ?

जेठ २० र २१ गते तय गरिएको कार्यक्रममा पहिलो दिन उद्घाटन समारोह हुनेछ। दोस्रो दिन बन्दसत्रबाट नयाँ कार्यसमिति चयन हुनेछ।

कति देशबाट कति प्रतिनिधि सहभागी हुँदैछन्?

३१ देशको ३४ सदस्य रहेकोमा कम्तीमा २५ देशबाट ५०० प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा प्रतिनिधि कसरी बन्न सक्छन्?

सम्बन्धित देशका प्रतिनिधिले सिफारिस गरेकाहरु प्रतिनिधि भएर सहभागी हुन सक्नेछन्। तर एक देश एक भोट हो। सम्बन्धित देशको संस्थाको प्रतिनिधिले उक्त अधिकार प्रयोग गर्न पाउनेछन्।

सम्मेलनप्रति चासो कतिको दिइरहेको पाउनुभएको छ?

यसपटक विशेष चासोका साथ हेरिएको छ। कोही अब आइटिसी साँच्चिकै अन्तराष्ट्रिय रुपमा विकास हुँदैछ भनेर प्रतिक्रिया दिन थालेका छन् भने कतिले तामाङहरु जनसंख्या कम भएको देशमा सम्मेलन किन भनेर चासो देखाउनु भएको छ। पक्कै पनि ३१ देशको ३४ सदस्य रहेकोमा कम्तीमा २५ देशका सहभागी हुने यो सम्मेलनमा यसखाले चासो र सुझावहरु आउनु हाम्रो लागि खुसीको कुरा हो। स्वस्थ आलोचना र सुझावहरुलाई हामी सदैव स्वागत गर्न तयार छु।

अन्तर्राष्ट्रिय चासो कस्तो पाउनु भएको छ?

नेपाल र भारत तेस्रो राष्ट्रमा अन्तरर्राष्ट्रिय सम्मेलन गर्न पाएकोमा त्यसै खुसी छन्। बर्मा र थाइल्यान्डका तामाङहरु पुस्तौपछि संसारका तामाङहरुलाई आफ्नो देशमा स्वागत गर्न पाउने भए भनेर असाध्यै खुसी भएको प्रतिक्रिया हामीले पाइरहेका छौं।

बैंककमै सम्मेलन किन भनेर आलोचना शुरु भइसक्यो?

पाँचौ सम्मेलन आयोजनाको सन्दर्भमा हामीले तामाङ समाज बर्मा र तामाङ समाज थाइल्यान्डसँग राय मागेका थियौं। दुवै संस्थासँगको सल्लाहमा दुवै संस्थाको व्यवस्थापक रहने गरी सम्मेलन बैंककमै गर्ने निर्णय भएको हो।

तर तामाङ नै नभएको ठाउँमा सम्मेलन गर्न लागियो भन्ने आरोप छ नि?

थाइल्यान्ड परिषद्को स्थायी सदस्य राष्ट्र हो। थाइल्यान्डमा त्यस देशको नागरिकको हैसियतले बसोबास गर्दै आएको तामाङको जनसंख्या एक हजारभन्दा बढी छन्। तामाङ समाज थाइल्यान्ड विगत एक दशकदेखि क्रियाशील पनि छ। भारत र नेपालमा मात्र अन्तरार्ष्ट्रिय सम्मेलन भयो भन्ने आलोचनापछि यसपटक हामीले तेस्रो देशमा सम्मेलन गर्न लागेका हौं।

अरु देश पनि छन् नि तामाङ धेरै बसोबास भएको, थाइल्यान्डमै किन?

यो परिषद् अन्तर्राष्ट्रिय प्रकृतिको संगठन भएको नाताले परिषद्को सम्मेलनहरु विभिन्न मुलुकहरुमा आयोजना गर्दै जाने भन्ने नीति रहँदै आएको छ। तर परिषद्को चार वटा सम्मेलनहरु सम्पन्न गर्दासम्म पनि सम्मेलनहरु नेपाल र भारतमा मात्रै घुमिरह्यो। चौथो सम्मेलन भारतको मिरिकमा आयोजना  गर्दैगर्दा नेपाल र भारतमा मात्रै सम्मेलनहरु गरेर अन्तर्राष्ट्रिय परिषद् नहुने प्रतिक्रियाहरु त्यसबेला व्यापक रुपमा आएको थियो।  विभिन्न मुलुकहरुमा सम्मेलन आयोजना गर्दै जाने परिषद्को नीति कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय संस्थाको मान्यतालाइ स्थापित गर्न पाँचौ सम्मेलन नेपाल र भारत बाहेकको अर्को देश थाइल्यान्डमा गर्ने निर्णय गरेका हौं।

नेपाल र भारतपछि तामाङ बसोबासको लामो ऐतिहासिक पृष्ठभूमि भएको देश बर्मा हो। बर्मामा अहिले तामाङहरुको जनसंख्या ३३ हजार छन् र १० पुस्ताको ऐतिहासिक पृष्ठभूमि छ। तर त्यहाँको आन्तरिक राजनीतिक कारणले अहिले त्यहाँ सभासम्मेलन गर्न बञ्चित छ। रोजगारको अवसर र थाइल्यान्डसँगको खुल्ला सिमानाको कारणले ठूलो संख्यामा बर्मेली तामाङहरु थाइल्यान्डमा छन्। बैंकक बर्माको नजिक भएकाले पनि हामीले यही स्थान रोजेका हौं।

अन्तर्राष्ट्रिय स्तरमा तामाङहरुको बसोबासको स्थिति कस्तो छ?

हामी तामाङहरुको उत्पति थलो नेपालको मध्यपहाडी हिमाली भूभाग ताम्सलिङ हो। राज्यको सीमाहरु निर्धारण गर्नु पहिलेदेखि नै भारत, भुटान, बर्मा, थाइल्यान्ड, बंगलादेशलगायत दक्षिण पूर्वी एसियाको विभिन्न मुलुकहरुमा फैलिएर रहेको छ।  रोजगार, पढाई, व्यापार आदिको सिलसिलामा युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरुमा हाम्रा पछिल्लो पुस्ताहरु पुगे। धेरै जनाले आप्रबासीहरुको निम्ति व्यवस्था गरेको नागरिकता र स्थायी बसोबासको सुबिधा उपयोग गरी ती देशहरुमा बसोबास गर्दै आइरहेका छन्। मूख्यत: रोजगारको सिलसिलामा खाडी मुलुकहरु, मध्यपूर्वका देशहरु, मलेसिया, कोरियाजस्ता देशहरुमा फैलिँदै गएको छ र प्रवासी कामदारको हैसियतमा बसोबास गर्दै आएका छन्।

नेपालको तामाङहरुले यो सम्मेलनलाई कसरी हेर्ने?

तामाङहरुको सभ्यताको विकास नेपालमा भएपनि इतिहासको विभिन्न कालखण्डमा हामी तामाङहरु विभिन्न मुलुकहरुमा छरिएर रहन पुगेका  छन्। यी सबै तामाङहरुलाई हाम्रो मुख्य भूमि ताम्सालिङ र तामाङ सभ्यताको संरक्षण र विकासको सन्दर्भमा एउटै मञ्चमा जोडिने र सबै देशका तामाङहरुसँग सहकार्य गर्ने अवसरका रुपमा नेपालका तामाङहरुले यो सम्मेलनलार्इ उपयोग गर्न सकिन्छ।

के विषयमा केन्द्रित हुन्छ यो सम्मेलनमा?

चौथो सम्मेलनसम्म पारित गरिएका घोषणापत्र र योजनाहरुलाई कार्यन्वयन गर्न अन्तरराष्ट्रिय कार्ययोजना निर्माणको विषयमा मुख्य छलफल हुनेछ। पारित भएका सवालहरु किन प्रभावकारी कार्यन्वय हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा गर्दै त विषयहरु कार्यन्वयनका निम्ति विश्वव्यापी कार्ययोजना तय गरिनेछ।

तामाङहरुलाई अन्तर्राष्ट्रिय संस्थाको आवश्यता किन पर्‍यो?

संसारका विभिन्न मुलुकहरुमा जुनसुकै हैसियतमा बसोबास गरिरहेको भए पनि हामी तामाङहरु विच एकता, भ्रातृत्व र सदभाव कायम राख्दै आफ्नो मौलिक पहिचानको रक्षा र विकासमा साझा एवं एकतावद्ध प्रयासहरु थाल्नको निम्ति यो परिषद्को आवश्यक भएको हो। यो परिषद्ले संसारभरिका सबै तामाङहरुलाइ एक अर्कामा जोडिने र सम्बन्ध विस्तार गर्ने साझा मञ्चको रुपमा काम गर्दै आइरहेको छ।

अन्तर्राष्ट्रिय तामाङ परिषद् सम्मेलन सम्मेलनदेखि सम्मेलन सम्ममात्रै सीमित भयो भन्ने आरोप पनि छ!

यो परिषद् एउटा मञ्च भएकोले यसले विश्वभरीका तामाङहरु बीच सद्भाव र मित्रता कायम गर्नु मुख्य काम हुन्छ। यो परिषद्ले संसारभरी हाम्रो मुद्दाहरुमा भएका सबै प्रयासहरु सफल बनाउन सहयोग, समर्थन र ऐक्यवद्दता जुटाउनु पर्ने पनि हुन्छ।  त्यस अर्थमा यो परिषद् मुख्यत: कार्यकारी संस्थाभन्दा पनि 'सेरेमोनिअल' प्रकृतिको संस्था हो।

हाम्रो कार्यकालमा संसारभरि संगठन विस्तार गर्ने काम भयो र त्यसमार्फत सबै तामाङहरुलाई जोड्ने प्रयासहरु भयो। पहिलोपटक क्षेत्रीय सम्मेलनहरु भयो र त्यस प्रकारको संगठनात्मक संरचनाहरु पनि बन्यो।

तामाङहरुको अन्तर्राष्ट्रिय सवालहरु के कस्ता छन्?

संसारभरिका तामाङहरुलाई जोड्ने र एकताबद्ध गर्ने साझा सवाल भाषा र संस्कृति हो। देश विशेषको राजनीतिक सवालहरु पनि छन्। जस्तै ताम्सालिङ निर्माण गरी पहिचान स्थापित गर्नु नेपालको सवाल हो। भारत, भुटान, बर्मा आदि देशहरुमा अल्पसंख्यकको अधिकार स्थापित गर्नु त्यहाँको सवाल देखिन्छ। युरोप अमेरिका अस्ट्रेलिया आदि देशहरुमा अप्रवासी अधिकारको सवाल हुन्छ भने खाडी, मध्ये पूर्व, मलेसिया, कोरिया आदि देशहरुमा प्रवासी अधिकारको सवालहरु हुन्छन्। संसारका विभिन्न मुलुकहरुमा जुनसुकै हैसियतमा बसोबास गरे पनि अहिलेको बहु-सांस्कृतिक समाजमा सबै तामाङहरुले शान्तिपूर्ण सह अस्तित्वका साथ् आफ्नो मौलिक पहिचानको अभ्यास गर्न पाउने अधिकार स्थापित गर्नु सबैको साझा मुद्दा हो।

नेपालमा ताम्सालिङ स्थापनाको सवालमा परिषद्ले कस्तो भूमिका खेल्न सक्छ?

हामी तामाङहरुको साझा उत्पति भूमि ताम्सालिङ हो जहाँबाट हाम्रो मौलिक सभ्यताको विकास भयो। यो ऐतिहासिक भूमिको पहिचान नै तामाङहरुको साझा पहिचान पनि हो। ताम्सालिङ स्थापना गर्नु संसारभरीका सबै तामाङहरुको साझा मुद्दा हो। तर नेपालमा तामाङहरुको राजनीतिक अधिकार स्थापित गर्नको निम्ति मुख्य रुपले नेपालकै तामाङहरुले लड्नुपर्ने हुन्छ। नेपालमै क्रियाशील संस्था वा राजनीतिक मोर्चाहरुले नै राजनीतिक आन्दोलनमार्फत पहल लिनु पर्ने हुन्छ। परिषद्ले संसारभरका तामाङहरुको साथसहयोग र ऐक्यवद्धता जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने हुन्छ।  

सम्मेलनले नयाँ नेतृत्व कसरी चयन गर्छ?

यसपटक थाइल्यान्ड र बर्माले संयुक्त अधिवेशन आयोजना गर्दैछ। आयोजक राष्ट्रले नै संयुक्त रुपमा ४ वर्षको लागि अध्यक्षता लिने छ प्रावधान छ। बाँकी पदाधिकारी र सदस्यहरु सहमतिमा चयन वा निर्वाचनबाट चुनिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell