PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

व्यवसायी रुङ्गटा खोज्न सीआइबीको पनि टोली, आत्महत्या दुरुत्साहनमा के होला कारबाही?



सविन ढकाल

व्यवसायी रुङ्गटा खोज्न सीआइबीको पनि टोली, आत्महत्या दुरुत्साहनमा के होला कारबाही?

काठमाडौं : चितवनका पोल्ट्री व्यवसायी शंकर प्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा घटनाका अन्य ‘शङ्कास्पद’ पाटाहरू खुल्न सकेका छैनन्। तर घटना आत्महत्या दुरुत्साहनमा भने आकर्षित भएको देखिएको छ।

बैशाख १९ गते भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा कँडेल साँझ फेला परेका थिए। प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला परेको थियो।

सुसाइड नोटमा कँडेलले उनको व्यवसायसँग जोडिएका दुई जनाको नाम लिएका छन्। जसको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

आत्महत्या दुरुत्साहनमा उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ। त्यस्तै, अर्का एक जना भने फरार रहेका छन्।

घटनामा जोडिएका पात्रहरू नेपाल दाना उद्योग सङ्घका उपाध्यक्ष प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल हुन्। रावललाई भने बैशाख २१ गते बाराको जितपुर सिमराबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

‘हामी यस घटनामा अनुसन्धान गरिरहेका छौँ। अहिले यति भन्ने अवस्था छ,’ वाग्मती प्रदेश प्रहरी प्रमुख डीआइजी किरन रानाले भनिन्।

यता रुङ्गटा भने फरार रहेका छन्। उनी देशबाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ। त्यस्तै, फरार रुङ्गटालाई खोजी गर्न सीआइबीको टोलीले पनि सहयोग गरिरहेको छ।

‘हामीले पनि फरार रहेका व्यक्तिलाई हेरिरहेका छौँ। अहिलेसम्म पाएको सूचनाको आधारमा उनी नेपालभित्र रहेको देखिएन,’ एक प्रहरी अधिकृतले भने।

उनी भारतमा लुकेर बसेको प्रहरीको आशङ्का रहेको छ। उजुरी परेपछि रुङ्गटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुँदा सम्मको लागि सङ्घले निलम्बन गरेको छ।

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर व्यवसायी रुङ्गटालाई बेचेका थिए। सेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले मानसिक दबाब दिएको खुलेको छ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो। ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ।

त्यसपछि प्रहरीले यस्ता घटनामा मानिस पक्राउ गरेर अनुसन्धान गर्न थालेको हो। मृतले लेखेको सुसाइड नोट, भिडियो, आफन्तले दिएको उजुरीलगायतको आधारमा प्रहरीले यस्ता घटनाको अनुसन्धान गर्दै आएको छ।

व्यवसायी रुङ्गटालाई पक्राउ गरेर अनुसन्धान गर्ने पहिलो प्रमाण घटनास्थलमा भेटिएको नोट र पीडित परिवारको उजुरी बनेको छ। प्रहरीले घटनाको अनुसन्धानमा थप प्रमाण खोजी रहेको छ।

प्रहरीले रुङ्गटालाई पक्राउ गरेर अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय हुँदै अदालतमा पुर्‍याउने छ। त्यसपछि आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell