हेटौंडा : राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३ वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ।
२०५० सालको साउनमा आएको बाढीपहिरोले घरबिहीन भएकाहरुलाई २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका-१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४०२ वटा घर बनेको थियो।
वनस्पतिमा निर्माण गरेको ४०२ घरमध्ये ७४ घरधुरीले लालपूर्जा पाएका थिएनन्। अहिले राष्ट्रिय भूमि आयोग मकवानपुरले ती मध्ये ५६ घरधुरीलाई मंगलबार जग्गाधनी पुर्जा प्रदान गरेको हो। बाँकी १८ जनाले राजस्व नतिरेका कारणले लालपूर्जा पाउन नसकेको र उनीहरुले राजस्व तिर्ने बित्तिकै लालपुर्जा पाउने आयोगका अध्यक्ष विष्णु दाहालले जानकारी दिए।