PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन्। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन्।

दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए। 'यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको छ। यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु,' उनले भने।

प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीनवटा शब्दलाई बढी महत्व दिएको बताउँदै भने, 'अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ। सामाजिक न्याय भनेको त्यही हो। देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।'

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए।

'जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु। म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो, तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु', उनले भने।

प्रधानमन्त्री दाहालले काठमाडौँ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे।

'हिजो राज्यले काठमाडौँ नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो', उनले भने, 'अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओहिरिने छन्।'

तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell