काठमाडौँ : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।
त्यस्तै च्यासल मैदानमा सम्पन्न खेलमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई २-० गोलले हरायो। संकटाको जितमा दुबै गोल युसुफ एट्रिसले गरे। खेलको १४ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता बनाएका उनले २६ औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
बराबरीमा सँगै थ्री स्टार २५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने १८ अंक जोड्दै एनआरटी १२ औँ स्थानमा छ। त्यस्तै संकटा २० अंक जोड्दै मिड टेबलका हिमायन शेर्पा र मनाङ मर्स्याङदीसँग अंक बराबरी गरेको छ। सातदोबाटो २३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।