काठमाडौं : नेकपा (एमाले)को सचिवालयको बैठकले वैशाख २८ देखि ३० सम्म हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले एजेण्डाको सूची तयार पारेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मिसन ग्रासरुट अभियानको समीक्षा पनि उक्त बैठकमा भएको थियो। २ महिनासम्म पार्टी सुदृढिकरण अभियान एमालेले चलाएको थियो।
केन्द्रीय कमिटीमा के के हुन्छ?
राजनीतिक परिस्थितिबारे अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्ने तय भएको छ। सचिवालय बैठकका निर्णयको अनुमोदन, आयोगका प्रमुखहरुको सम्बोधन, मिसन ग्रासरुटको समीक्षा गर्ने पनि एजेण्डा तय भएको गुरुङले जानकारी दिए। मिसन ग्रासरुटबाट भएका उपलब्धिबारे कार्ययोजना बन्ने र वर्षमा एक पटक केन्द्रीय सदस्यलाई फिल्डमा पठाउनेबारे छलफल हुने भएको छ। बैठकमा १० वटा ऐजेण्डामाथि छलफल हुने पनि उनले बताए।
'टोपबहादुरमाथि अनुसन्धान गर्न सहयोग गर्नुपर्छ'
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी तानिएकाले उनीमाथिको अनुसन्धानमा सहयोग पुर्याउनुपर्ने
प्रवक्ता गुरुङको भनाइ छ। विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धानमा सहयोग पुर्याउने उनले बताएका हुन्। 'टोपबहादुर रायमाझीको नाम आएको छ। त्यसका लागि हामीले सघाउने भन्ने छ। विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धानमा सहयोग पुर्याउनुपर्छ,' उनले भने। प्रहरीले पक्राउ पूर्जी जारी गरे यता रायमाझी फरार रहेका छन्। उनलाई एमाले जोगाउन लागेको भनेर आलोचना भइरहेका बेला गुरुङले अनुसन्धानमा सघाउनुपर्ने बताएका हुन्।