काठमाडौंः युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवा तथा खेलकुद मन्त्रालय कसैले लिन नचाहेको आफूले जिम्मेवारी लिएको बताएको छन्। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्रालयको महत्व ठूलो भए पनि जिम्मेवारीमा कसैको चासो नपरेको बताएका हुन्।
'यो मन्त्रालयको महिमा ठूलो छ, तर कसैले यो मन्त्रालय लिन चाहँदो रहेनछ। पार्टीले जिम्मेवारी दिन्छ भने म इमानदारसाथ गर्छु भनेपछि म यो मन्त्रालयमा आएँ', मन्त्री लिम्बुले बताए।
निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकार भएयता युवा तथा खेलकुद मन्त्रालय खाली थियो। दलीय भागवण्डामा कुनै पनि दलले चासो नदिँदा खेलकुद नेतृत्वविहीन बन्दै आएको थियो। यही हप्तामात्र मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्रालयले नेतृत्व पाएको थियो।
लिम्बुले आफ्नो कार्यकालमा इमानदार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताए।
लिम्बुले आफू कान्छो मन्त्री सुरेन्द्रराज आचार्यभन्दा अगाडिको 'ठूलो कान्छो' मन्त्री भएको भन्दै केही गरौँ भनेर आएको बताए।