इण्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सूर्यकुमार यादवले बिस्फोटक ब्याटिङ गर्दा घरेलु टोलीले बेङ्ग्लोरमाथि ६ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ६६ रन बनाउँदा फाफ डुप्लिसिसले ६५ तथा दिनेश कार्तिकले ३० रन बनाए। त्यस्तै केदार जाधव र वानिन्दु हसरंगा समान १२ रनमा अविजित रहे। मुम्बईका लागि जेसन बेहरेनड्रफले सर्वाधिक ३ विकेट लिँदा क्यामरोन ग्रीन, क्रिस जोर्डन र कुमार कार्तिकेयले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। मुम्बईका लागि सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै ३७ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८३ रन बनाए। त्यस्तै इशान किशनले ४२ रन बनाउँदा नेहल वधेरा ५२ रनमा अविजित रहे।
जितसँगै ११ खेलबाट १२ अंक जोडेर मुम्बई इन्डियन्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। तालिकाको दोस्रो स्थानमा १२ अंक जोडेको चेन्नइ सुपर किंग्स तथा शीर्षस्थानमा १६ अंक जोडेको गुजरात टाइटन्स छन्। बेङ्ग्लोर भने १० अंक जोडेर तालिकाको सातौँ स्थानमा छ।