बुटवल : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागीबाट घर जोगाउन खोज्दा जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए।
सोही घटनामा घाइते भएकी २६ वर्षीया अस्मिता बेलबासेको पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। मंगलवार भुमिकास्थान नगरपालिका-२ तिरतिरे खोला किनारको जंगलमा लागेको आगो बस्तीमा पुगेर घरमा सल्किएपछि निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते भएका थिए।
जंगलमा लागेको आगो बस्तीमा पसेर पदम बेल्वासेको घरमा सल्किएको थियो। सोही घरमा सल्किएको आगो निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते भएपछि जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको थियो।
पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा पिताम्बर र पदमको गएराति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका माधव र घनश्यामको बुधवार बिहान ७ बजेतिर मृत्यु भएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।