PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चुच्चेपाटीबाट समातिएका खाणसँग सोधपुछ गर्दै प्रहरी : हिरासतको यात्रा कि घर फिर्ती?



सविन ढकाल

चुच्चेपाटीबाट समातिएका खाणसँग सोधपुछ गर्दै प्रहरी : हिरासतको यात्रा कि घर फिर्ती?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान काठमाडौंको चुच्चेपाटीबाट उनलाई समातेको हो। काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीतारामा रिजालले बिहान घरबाट नै नियन्त्रणमा लिएको जानकारी दिए।

'उहाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,' एसपी रिजालले भने।

पूर्व गृह मन्त्री खाणलाई नियन्त्रणमा लिँदा प्रहरीले हथकडी भने लगाएको छैन। नियन्त्रणमा लिएसँगै खाणसँग सोधपुछ गरिएको छ। आज सोधपुछ गरेपछि हिरासतमा राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय नभइसकेको एक उच्च प्रहरी अधिकृतले भने।

'हिरासतमा राख्ने वा नराख्ने भन्ने विषयमा अहिले नै केही भन्ने अवस्था रहेन,' एक उच्च प्रहरी अधिकृतले भने।

प्रहरीले २४ घण्टासम्म अदालतबाट अनुमति नलिइ हिरासतमा राख्न सक्छ। तर, त्यस भन्दा धेरै समय राख्नुपरेको खण्डमा अदालतबाट म्याद थपको अनुमति लिनुपर्ने हुन्छ।

गृहमन्त्री रहिसकेका खाणले गृह सचिव बनाएका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईलगायत १० जना यसअघिदेखि नै प्रहरी हिरासतमा छन्।

खाडले गृहमन्त्री भएपछि टेकबहादुर पाण्डेलाई गृह मन्त्रालयको सचिव बनाएका थिए। गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ। त्यही बयानको आधारमा प्रहरीले खाणलाई नियन्त्रणमा लिएको हो।

यस प्रकरणमा केही प्रमाणसहित सतहमा देखिएका आरोपी नेकपा (एमाले)का सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि हुन्। उनी गत बुधवारदेखि सम्पर्कविहीन छन्। नेपाल प्रहरीको विभिन्न युनिटले उनलाई खोजिरहेको छ। उनको पक्राउ पूर्जीलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाइसकेका छन्।

बुधवार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी गायव भएका हुन्। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिको नाम आएसँगै यो विषय जटिल बनेको हो। सामाजिक सञ्जालबाट सार्वजनिक भएका अडियोहरुका अनुसार सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवा र पूर्व गृह मन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणको पनि यस प्रकरणमा नाम जोडिएको छ। अहिलेसम्म प्रहरीले ११ जनालाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell