काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा शीर्ष नेताले बाधा नपुर्याउने सहमति भएको दाबी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले कसैले पनि प्रहरीलाई दबाब दिन नुहने निचोडमा पुगेको बताएका हुन्।
'प्रहरीले यो विषयमा जसरी अनुसन्धान गरिरहेको त्यसमा कसैले पनि डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ,' सिंहदरवारको भेटपछि प्रचण्डले भने। संसदका विभिन्न समिति र तिनको नेतृत्वका बारेमा पनि भेटमा छलफल भएको प्रचण्डको भनाइ छ।
'हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,' प्रचण्डले भने। प्रचण्डले अहिले भइरहेको अनुसन्धानमा आशंका गर्न नहुने बताए। निर्दोष नफस्ने र दोषी उम्कन नपाउने गरि प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ थियो। 'हामीले प्रष्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर हामीले आदेश दिएका छौँ,' प्रचण्डले भने।