काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मछिन्द्र क्लबलाई हराउँदै चर्च ब्वाइज क्लब शीर्षस्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चर्च ब्वाइजले मछिन्द्र क्लबमाथि २-१ गोलअन्तरले जित निकालेको हो।
खेलको ४० औँ मिनेटमा चर्चले अञ्जन बिस्टको गोलमा अग्रता बनाएको थियो। दोस्रो हाफमा मछिन्द्र खेलमा फर्कियो। ६६ औँ मिनेटमा ओमेलाजा करीमले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। चर्चले दोस्रो गोल भने आत्मघाती उपहारमा पाएको थियो। ७१ औँ मिनेटमा मछिन्द्रका प्रदीप भण्डारीले आत्मघाती गोल गर्दा चर्चले २-१ गोलको जित निकाल्न सफल भएको हो।
त्यस्तै आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीको खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबमाथि सहज जित निकाल्यो। अर्माण्ड बेडोउमले ४१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा एक गोलले अघि रहेको एपीएफलाई आवास लामिछानेले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले खेलको ५६ औँ मिनेटमा गोल गर्दा नविन लामाले ६१ औँ मिनेटमा गोल गरेका थिए।
योसँगै लिगको १६ औँ चरण सकिँदा ३० अंक जोडेर चर्च ब्वाइज शीर्षस्थानमा रहँदा २७ अंक जोडेर जावलाखेल दोस्रो स्थानमा छ। त्यस्तै, २५ अंक जोडेको थ्री स्टार तेस्रो, २४ अंक जोडेको मछिन्द्र चौथो तथा २३ अंक जोडेको सातदोबाटो पाँचौँ स्थानमा छन्। रेलिगेशन क्षेत्रमा १७ अंक जोडेर खुमलटार तथा १६ अंक जोडेको पुलिस छन्।