PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

कांग्रेस पदाधिकारी बैठकमा बालकृष्ण खाणबारे के भयो छलफल?



पहिलोपोस्ट

कांग्रेस पदाधिकारी बैठकमा बालकृष्ण खाणबारे के भयो छलफल?

काठमाडौं: नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउबारे पदाधिकारी बैठकमा छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार साँझ बसेको पदाधिकारीको बैठकमा खाण पक्राउ प्रकरणबारे छलफल भएको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका खाण बिहान पक्राउ परेसँगै कांग्रेसले पदाधिकारी तथा पूर्वपधिकारीको आकस्मिक बैठक बोलाएको थियो।

बैठकमा राजधानीमा उपलब्ध पदाधिकारी उपस्थित भएको थियो। यस प्रकरणमा खाणले सरकारलाई अनुसन्धानमा सघाएको कांग्रेसको ठम्याइ रहेको पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

'बालकृष्णजीको सन्दर्भमा उहाँ आफैँले सहयोग गर्छु भन्नुएको छ। पार्टीको आधिकारिक धारणा नै यो हो कि उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ,' बैठकपछि अर्थमन्त्री डा महतले भने।

एमालेले यस प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ। यस्तो अवस्थामा कांग्रेसले केन्द्रीय सदस्यसमेत रहेका खाणलाई निलम्बन गर्छ त? सञ्चारकर्मीको प्रश्नमा डा महतको जवाफ थियो, 'अनुसन्धान नआइ दोषी करार गरेर भएन नि। अनुसन्धान हुनेबित्तिकै उहाँलाई अहिले नै दोषी भइसक्नुभयो भन्ने कुरा नगरौं न। अहिले अनुसन्धानको लागि बोलाइएको छ। अझ अनुसन्धान परिपक्व होस् न। टोपबहादुर रायमाझी त उपस्थिति नै नभएको अवस्था हो।  पक्राउ पूर्जी नै जारी गरेकै अवस्थामा उहाँ फरार हुनुभयो भनेर एमालेले त्यसो गरेको होला।'

खाणको पक्राउबारे पार्टी वृत्त जानकार रहेको उल्लेख गर्दै महतले बुधबारको बैठकमा निलम्बनको विषयमा कुनै कुरा नउठेको दाबी गरे।

'निलम्बनको विषयमा कुनै कुरा उठेन। अनुसन्धान परिपक्वा होस्। त्यसपछिमात्र पार्टीले निर्णय गर्छ त्यसबेला। अनुसन्धान त भर्खर भएको छ। उहाँ भाग्नुभएको छैन,' अर्थमन्त्री महतले भने, 'महत्वपूर्ण मान्छे हो उहाँ पूर्व गृहमन्त्री। अनुसन्धान होस् न। त्यसपछि पार्टीले निर्णय गर्छ ।'

यद्यपि ठगी प्रकरणमा जोडिएर पक्राउ परिसकेकाले उनलाई पार्टीको पदबाट निलम्बन गर्नुपर्ने माग केही पदाधिकारीले उठाएका थिए। त्यस विषयमा सभापति शेरबहादुर देउवाले अनुसन्धानको निचोडपछि मात्रै निर्णय गरिने जवाफ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell