PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बजेटको तयारीमा वाग्मती सरकार, चालु आर्थिक वर्षभन्दा १० प्रतिशतले घट्यो ‘सिलिङ’



निशा गुरुङ

बजेटको तयारीमा वाग्मती सरकार, चालु आर्थिक वर्षभन्दा १० प्रतिशतले घट्यो ‘सिलिङ’
फोटो : आर्थिक मामिला तथा योजना मन्त्रालय, वाग्मती प्रदेश

हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको ‘सिलिङ’ मन्त्रालयहरुमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको अर्थमन्त्री बहादुर सिंह लामाले बताए।

मन्त्री लामाले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। उनका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।

मन्त्रालयहरुले बितेको आर्थिक वर्षमा प्राप्त गरेकोभन्दा १० प्रतिशत कम बजेटको ‘सिलिङ’ प्राप्त गरेका छन्। प्रदेशको ११ वटा मन्त्रालयहरुले पनि आफ्ना मातहतका कार्यालयहरुमार्फत बजेट बनाउने काम सुरु गरेका छन्। प्रदेशका ५ वटा मन्त्रालयमा मन्त्री नभएपनि बजेट र नीति तथा कार्यक्रमहरु भने तयार गर्न थालिएको छ।

११ वटा मन्त्रालयहरूलाई ‘सिलिङ’ बजेट तोकेर योजना माग गरिसकेको मन्त्री लामाले बताए। प्रदेशका ६ वटा मन्त्रालयमा मात्रै मन्त्री छन्। बाँकी ५ वटा मन्त्रालय भने मुख्यमन्त्रीको जिम्मेवारीमा छन्।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बिच भागवण्डा नमिल्दा र कांग्रेसले मन्त्रीहरूको नाम नदिँदा मन्त्रिपरिषद् साढे एक महिनादेखि अपूर्ण छ। तर पनि बजेट निर्माणमा मन्त्रालयहरू रोकिएका भने छैनन्।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ का लागि बजेट बढ्नुपर्नेमा उल्टै १० प्रतिशत कटौती गरेर ‘सिलिङ’ पठाइएको हो। आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव लक्ष्मीकुमार रिमालले संघबाट बजेट ‘सिलिङ’ घटेर आएको, प्रदेश सरकारको आन्तरिक स्रोत पनि खुम्चिए र आर्थिक संकटका कारण ‘सिलिङ’ कटौती गर्नुपरेको जानकारी दिए। चालु आर्थिक वर्षमा वाग्मती सरकारको बजेट ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको रुपैयाँको रहेको छ।

चालु आवको ९ महिनामा १७ प्रतिशत पुँजी खर्च

वाग्मती प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि पुँजीगत बजेट खर्च भने १७ प्रतिशत मात्र गरेको छ। हरेक वर्ष विकास बजेट खर्च कमजोर रहँदै आएको वाग्मतीमा चालु आवमा पनि सोही क्रम दोहोरिने भएको छ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार विनियोजित बजेटको फागुन मसान्तसम्म जम्मा १७ अर्ब ११ करोड ८ लाख रुपैयाँ मात्र खर्च भएको छ। बितेको ८ महिनामा चालु खर्च ९ अर्ब २४ करोड ४२ लाख अर्थात ३४.१४ प्रतिशत र पुँजीगत खर्चतर्फ १७.३६ प्रतिशत अर्थात् ७ अर्ब २६ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ।

वाग्मती प्रदेश सरकार स्थापनाको पहिलो आर्थिक वर्ष २०७५/७६ मा ल्याएको बजेटको जम्मा ६० प्रतिशत मात्र खर्च भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ४७ अर्ब ६० करोड ७९ लाख रुपैयाँको बजेट ल्याएकोमा कुल बजेटको जम्मा ५९ प्रतिशत मात्र खर्च भएको थियो।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित बजेट ५१ अर्ब ४२ करोड ७५ लाख रुपैयाँमा ६९ प्रतिशत मात्र खर्च गरेको थियो। यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा पनि विनियोजन गरेको बजेट ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँमा ६६ प्रतिशत मात्र खर्च भयो।

गत आवमा ३४ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। सयौँ विकास आयोजना अलपत्र हुँदा निर्माणमा ध्यान दिन नसकेर सरकार फेरबदलमै चालु आर्थिक वर्षको ९ महिना बित्दा बजेट खर्च हुन नसकेको सरोकारवाला निकायहरुको तर्क छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सबैभन्दा धेरै बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। भौतिकले २३ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ कुल बजेटमा ३ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको हो। श्रम, रोजगार तथा यातायात मन्त्रालयले २९ करोड १५ लाख अर्थात ३० प्रतिशत मात्रै बजेट खर्च सकेको छ।

वन तथा वातावरण मन्त्रालयले १ अर्ब २ करोड ३७ लाख रुपैयाँ अर्थात् ३१ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले १ अर्ब ३० करोड ५० लाख रुपैयाँ अर्थात २९ प्रतिशत बजेट खर्च गर्न सकेको छ।

सामाजिक विकास मन्त्रालयले ९२ करोड २९ लाख रुपैयाँ अर्थात् २६ प्रतिशत खर्च गरेको पाइएको छ। प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जम्मा २४ करोड ५८ लाख बजेट दिइएको थियो। जसमा ६ करोड २२ लाख अर्थात ५० प्रतिशत खर्च गरेको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुल बजेटको १४ करोड १४ लाख अर्थात २२ प्रतिशत बजेट खर्च गरेको छ। मुख्यमन्त्री कार्यालयले ६३ करोड १९ लाख ६८ हजार रुपैयाँ बजेट राखेको थियो।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ११ करोड २६ लाख अर्थात ४७ प्रतिशत, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले २ अर्ब २२ करोड ६६ लाख अर्थात २४ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ करोड २२ लाख अर्थात २० प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ६४ करोड ८२ लाख अर्थात १५ प्रतिशत बजेट खर्च गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयले १९ करोड १३ लाख रुपैयाँ अर्थात् कुल बजेटको १६ प्रतिशत, संस्कृति तथा पर्यटन मन्त्रालयले १७ करोड २९ लाख अर्थात १० प्रतिशत, सबैभन्दा कम बजेट पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell