PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'डिलिट' गरिएको मोबाइल डेटा 'रिकभर' भएसँगै हाइप्रोफाइलको कठालोमा प्रहरीको हात



पहिलोपोस्ट

'डिलिट' गरिएको मोबाइल डेटा 'रिकभर' भएसँगै हाइप्रोफाइलको कठालोमा प्रहरीको हात

काठमाडौं : चैत ११ गते प्रहरीले सानु भण्डारी, केशव तिवारी र टंककुमार गुरुङलाई पक्राउ गरेपछि नै फर्जी भुटानी शरणार्थीको प्रकरणमा 'हाइप्रोफाइल' व्यक्तिका नाम आउन थालेका थिए। पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व सांसद इन्द्रजीत राई त तिनै सूचीमा परिहाले जो यतिखेर हिरासतमा छन्। पछिल्लो समय जो जो पक्राउ भए सुरुमा प्रहरीसँग उनीहरुलाई समाउने प्रमाण नै थिएन। इन्द्रजीत र उनका छोरा निरजको नाम चाहिँ रकम लिएको भन्दै टिपिएको डायरीमा भेटिएको थियो। त्यही आधारमा इन्द्रजीत र निरजसँग पुग्न प्रहरीका लागि बाटो खुलिसकेको थियो।

उता केशव तिवारी र सानु भण्डरीले बयानमा यी दुई बाबु छोराको पनि नाम लिएका थिए। बयानलाई नै आधार मान्ने अवस्थामा थिएन प्रहरी। हाइ प्रोफाइल व्यक्ति भएकाले प्रमाण नजुटाई उनीहरु विरुद्द पक्राउ पुर्जी लिनु वा सोधपुछका लागि बोलाउनु प्रहरीकै लागि 'थ्रेट' नै थियो।

एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको विषयमा भने प्रहरीले उनको छोरो सन्दीपको नाममा काटिएको तीन वटा चेक भेटेको थियो- डेढ करोड रुपैयाँको। त्यही आधारमा प्रहरीले वैशाख २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। तर, त्यसभन्दा बढी प्रमाण पक्राउ परेका अभियुक्तको मोबाइलबाट भेटियो।

पहिलो चरणमा पक्राउ परेका तीनै जनालाई हाइप्रोफाइल व्यक्तिले आफ्नो नाम नखोलुन् भनेर सकेको धम्की दिएको प्रहरी अनुसन्धानमा खुल्छ। तर, बिचौलिया भण्डारी, तिवारी र राईले भने मुख भने बन्दै राखिराख्‍न सकेनन्। प्रहरीले कारबाही गर्न हिम्मत देखाउने र लिखित रुपमा बयानमा राख्‍ने शर्तसँगै उनीहरुले नाम खोल्न थालेका थिए।

'हाइप्रोफाइल भनिएकाबाट सुरुमा समातिएका माथि ठूलो थ्रेट थियो। तर, उनीहरुले मुख खोले। त्यसैको आधारमा अन्य प्रमाण खोजेका हौं,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा विरुद्ध गजेन्द्र बुढाथोकीले प्रहरीमा उजुरी दिएका थिए। त्यसैको आधार र पक्राउ परेकाहरूको बयानको आधारमा प्रहरीले सन्देशको खोजी गर्‍यो। नभन्दै चैत २९ गते उनलाई पक्राउ गर्न सफल भयो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यतिन्जेलसम्म ६ जनालाई पक्राउ गरिसकेको थियो। सन्देश दाङमा अमेरिका पठाउने भन्दै रकम उठाउने गिरोहका सदस्य हुन्। उनीमाथि प्रहरीले अनुसन्धान सुरु गर्‍यो।

सन्देशको साथबाट प्रहरीले मोबाइल फेला पार्‍यो। मोबाइलमा केही थिएन। सबै डिलिट भइसकेको। मोबाइल जफत गरेर प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठायो। मोबाइलको डेटा रिस्टोर गरियो। त्यसपछि बयानमा पोलिएका व्यक्तिविरुद्ध अगाडि बढ्न प्रहरीका लागि थप प्रमाण भेटियो। सन्देशको मोबाइलले पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे र इन्द्रजित राई लगायतको कनेक्सन जोड्यो।

सबै जनासँग सम्पर्कमात्र होइन। रकम लेनदेनको कुरा रिकभर भएको मोबाइलको डेटाबाट खुल्यो।

'मोबाइलले धेरै प्रमाण जुटाएको छ। हामीले अभियुक्त सबैका मोबाइल चेक गरेका थियौं,' प्रहरी स्रोतले भन्यो।

यही क्रममा प्रहरीले वैशाख २० गते सचिव टेकनारायण पाण्डेलाई नियन्त्रणमा लियो। उपराष्ट्रपति कार्यालयको सचिव रहेका पाण्डे समातिएपछि प्रहरीले सन्देशको झै मोबाइल जफत गर्‍यो। बहालवाला सचिव बाठा हुने नै भइहाले। उनले पनि हत्त न पत्त सबै डेटा डिलिट गरिसकेका रहेछन्। उनीबाट जफत भएको मोबाइलबाट डिलेट गरिएको सामग्री प्रहरीले रिकभर गर्‍यो। ह्वाट्सएप लगायत अन्य माध्यमबाट टेकनारायण र पूर्व गृहमन्त्री खाणबिच कुराकानी भएको देखियो। नक्कली भुटानी शरणार्थीसँग जोडिएका विषयमा भएका संचार हात परेपछि प्रहरीलाई के चाहियो? त्यसैले हाइ प्रोफाइलसम्म पुग्न प्रहरीले धेरै कुर्न परेन।

अहिलेसम्मको अनुसन्धानमा टेकनाराण पाण्डे, पूर्व गृहमन्त्री खाण, पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझीले भुटानी शरणार्थी प्रकरणमा रकम बुझेको प्रमाणहरु जुटेको प्रहरीको दावी छ। प्रहरीले अभियुक्तको बयान, मोबाइलबाट भेटिएको प्रमाण तथा परिस्थितजन्य प्रमाणले पुष्टि गर्दै केसलाई अगाडि बढाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell