
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादस्थित अदालत परिसरबाट पक्राउ गरिनुलाई त्यहाँका सर्वोच्च अदालतले ‘गैरकानुनी’ भनेको छ। आज भएको सुनुवाइमा पाकिस्तान तेहरिक ए इन्साफका अध्यक्ष रहेका खानलाई शुक्रवार इस्लामावाद उच्च अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।
सर्वोच्चले खानलाई पुलिस लाइन्स गेस्ट हाउसमा राख्न पनि भनेको छ। अदालतले सुरक्षासहित प्रहरी निगरानीमा राख्न भने पनि खानलाई थुनुवाका रुपमा मान्यता नदिन पनि भनेको छ।
‘इमरान खान गेस्ट हाउसमा पाहुनाका रुपमा रहनेछन्। खानको सुरक्षाको जिम्मेवारी सरकारको हुनेछ,’ पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बनडियलले भने।
आजको इजलास प्रधानन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय थियो। सो इजलासमा आजै खानलाई अदालतमा उपस्थित गराउन नेश्नल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी)लाई निर्देशन दिएको थियो।
खानलाई स्थानीय समय अनुसार साँझ ५:४५ बजे सर्वोच्चमा उपस्थित गराइएको थियो।
इमरान खानलाई बुधवार पक्राउ गरिएको थियो। इस्लामावाद उच्च अदालत पुगेका बेला पाकिस्तानी रेनजर्सको टोलीले अदालत परिसरबाटै खानलाई जबरजस्ती पक्राउ गररेर गाडीमा राखेको थियो। सयौंको संख्यामा रहेका प्रहरी बलले खानलाई घेरेर नियन्त्रणमा लिएको थियो। खानलाई पक्राउ गरिनुलाई पीटीआइले ‘अपहरण’ भनेको थियो। त्यसपछि देशभर आन्दोलनको घोषणा गरिएको थियो।
खानलाई पक्राउ गरेको विरोधमा भएको आन्दोलनमा करिब ८ जनाको मृत्यु भइसकेको छ। पाकिस्तानमा मात्रै होइन बेलायत, क्यानडा लगायतका देशमा पनि पीटीआइले आफ्नो संजाल परिचालन गरि प्रदर्शन गरिरहेको छ।
सर्वोच्चले खानको पक्षमा फैसला सुनाएपछि उनले शान्ति स्थापना गर्न आग्रह गरेका छन्। खानले वर्तमान सरकारको विरोध गर्दै निर्वाचनको मागसमेत गरेका छन्। प्रतिक्रिया दिँदै खानले देशमा उत्पन्न परिस्थितिबारे आफू जानकार नभएको बताएका थिए।
‘मलाई आतंकवादी जसरी समातियो। म कसरी ती प्रदर्शनहरुको जिम्मेवार हुन सक्छु,’ खानले भने, ‘त्यसरी त हत्याराहरुलाई पनि व्यवहार गरिँदैन।’
सर्वोच्चले खानलाई उच्च अदालतले दिने फैसलाको सम्मान गर्न भनेको छ।